दसैं, तिहार, छठजस्ता ठूला चाड नजिकिँदै गर्दा बजार भाऊ अत्यास लाग्ने गरी बढेको छ ।
एक महिना अन्तरमै कुनै–कुनै सामानको मूल्य ७२ प्रतिशतसम्म बढेको तथ्यांक छ । तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडाको भाउ छोइनसक्नुको छ । दाल, तेलजस्ता अतिआवश्यक सामग्रीको मूल्य पाँच वर्षको अन्तरमा शतप्रतिशत बढेको छ । अस्वभाविक मूल्यवृद्धिले आमनागरिक आत्तिएका मात्र होइन चाडपर्वले भान्सा महंगिएकोमा चिन्तित छन् ।
जब ठूला चाडपर्व आउँछ, तब कालोबजारी गर्नेलाई ठूलो अवसर पाएजस्तो हुन्छ । बजार भाउ मनलाग्दी छ, सरकारबाट नियमन हुँदैन । बजारमा गुणस्तरहीन सामानको बिक्री हुन्छ, अनुगमन हुँदैन । चाडपर्व विशेष अनुगमनको नाटक मञ्चन भए पनि कमजोरी गर्नेमाथि कारबाही हुँदैन ।
जसले बेइमान व्यापारी र विचौलियाको मनोबल बढाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा तरकारीको मूल्य अस्वभाविक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको मूल्यसूचीअनुसार फलफूल र तरकारीको मूल्य एक्कासी अचाक्ली बढेको छ । तर, समिति भने मूल्य स्वभाविक रुपमा बढेको बताउँदै आएको छ ।
दाल, चामल र तेलको मूल्य पाँच वर्षमा शतप्रतिशतले बढेको छ । त्यस्तै एक महिनाअघिको तुलनामा पनि खाद्यान्नको मूल्य बढेको तथ्यांक छ । एक महिनाअघि एक सय १५ रुपैयाँमा पाइने सोयाविन तेलको मूल्य अहिले एक सय ३५ रुपैयाँ पुगेको छ । त्यस्तै, १ सय ३० रुपैयाँमा पाइने सनफ्लावर तेलको मूल्य १ सय ५० भएको छ । खासगरी पछिल्लो एक महिनामा मैदा, चिनी र खानेतेलको भाउ निकै बढेको व्यवसायीको भनाई छ ।
सरकारले सञ्चालन गरिरहेको साहुलियत पसल र थोक विक्रीमा कुनै भिन्नता देखिँदैन । बजार अनुगमनलाई भत्ता पचाउने र बजेट सिध्याउने मेसो मिलाउनेभन्दा माथि उठेर प्रभावकारी बनाउनु यतिबेलाको खाँचो देखिएको छ । मूल्यबृद्धि नियन्त्रण नगरे यसले कालोबजारीलाई थप पश्रय दिने पक्का छ ।
प्रतिक्रिया