के हो मोदीको अजस्र ऊर्जाको स्रोत ?

के हो मोदीको अजस्र ऊर्जाको स्रोत ?


bicharसबभन्दा नजिकको छिमेकी मुलुक भारतमा हिजो मंगलबारका दिन आमनिर्वाचनमा मतदान गर्ने प्रक्रिया सम्पन्न भएको छ र यही साताको शुक्रबारदेखि मतगणना कार्य सुरु हुँदै छ । विश्वकै ठूलो लोकतन्त्र भन्ने विशेषण पाएको भारतमा पाँच–पाँच वर्षमा हुने आमनिर्वाचन सदैव चासो र चर्चाको सन्दर्भ बन्दै आएको हो । तर, यसपटक भने भारतीय चुनावी चर्चाले केही बढी नै जोड पक्रिएको अनुभूति सर्वत्र गरिएको छ । यसका कारण विविध होलान्, तर मुख्य कारण बन्न पुगेका छन् भारतीय जनता पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघिसारेका नेता एवम् गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी । विश्वभर युवानेतृत्वको बहस छेडिएको परिवेशका साथै भारतकै सन्दर्भमा पनि प्रमुख प्रतिद्वन्द्वीका रूपमा चर्चामा रहेका काङ्ग्रेसका ‘स्टार प्रचारक’ ४३ वर्षीय राहुल गान्धी र आम आदमी पार्टीका ४५ वर्षीय अरविन्द केजरीवालको दाँजोमा ६४ वर्षीय मोदीलाई वृद्ध नेता मान्नैपर्ने हुन्छ । तर, उमेरले ‘वृद्ध’ मोदीमा देखिएको ‘ऊर्जा’ भने भारतका कुनै पनि युवा नेतामा नदेखिएको प्रसङ्ग यतिबेला अत्यधिक चर्चामा छ । निश्चय पनि एक राजनीतिज्ञका निम्ति यो गौरव र अहम् महŒवको कुरा हो । आखिर के हो त मोदीको यस्तो ऊर्जाको रहस्य ? चासोको विषय ठानिनु असान्दर्भिक नठहरिएला ।
‘यदि देशभर चुनावी यात्रा र -याली आयोजना गरी तेजतर्रार भाषण गरेर कसैले चुनाव जित्छ भने भाजपाका प्रधानमन्त्रीको उम्मेदवार नरेन्द्र मोदीलाई यस चुनावमा भारी जित हासिल हुनैपर्छ !’ यो भनाइ मोदीका कुनै एक कट्टर समर्थकको भए पनि यसले भारतका मध्यमवर्गीय ठूलो तप्काको जनभावनालाई अभिव्यक्त गरिरहेकोमा शङ्का गरिरहनै पर्दैन । एकातिर सिङ्गो भारतीय मिडियाले मोदीका प्रत्येक -यालीको दिनरात कभर गरिरहेका छन् भने अर्कोतर्फ उनका समर्थकले मानेका छन् कि खट्ने या काम गर्ने मामलामा मोदी सबभन्दा अब्बल छन् ।
त्यसो त आम आदमी पार्टीका नेता केजरीवालका रोड शो पनि कम प्रभावशाली रहेन भने काङ्ग्रेसका ‘स्टार प्रचारक’ राहुल गान्धीले पनि देशभर एकसेएक -याली गर्दै मोदीमाथि प्रहार गरे । तर, कैयन अवस्थामा यस्तो अनुभूति गरियो कि मोदीको विरोधमा राहुलले आफूसँग भएकोभन्दा बढ्ता तागत लगाउने प्रयत्न गरे । यसको बाबजुद उनी मोदीजत्तिका ऊर्जावान देखिएनन् । नरेन्द्र मोदी सालाखाला एक दिनमा तीन–चारवटा चुनावी -याली तथा सभा आयोजना गरीकन आफ्नो सहर अहमदावाद फर्किन भ्याउँथे । गत सेप्टेम्बरदेखि नै उनी हरेक दिनजस्तो सयौँ माइल हवाई यात्रा गर्दथे, कत्ति थकित नजर नआईकन । हरेक दिन भारतका नयाँ–नयाँ गाउँ–ठाउँ पुग्थे, सडक–गल्लीमा पाइतालाले धुलो उडाउँथे अनि राहुल र केजरीवालले भन्दा बढ्ता चुनावी सभालाई सम्बोधन गर्थे । यो लरतरो या सामान्य ऊर्जा भएको व्यक्तिले गर्न सक्ने काम होइन । मोदीका कट्टर विरोधी तथा आलोचकहरूले पनि उनको ऊर्जा र उत्साहको कदर गर्न कञ्जुस्याइँ गरेनन् । आफ्नो ओहोदा र दिनानुदिनको कठिन जिम्मेवारी पूरा गर्ने सवालमा मोदीमा जुन दृढता देखिने गरेको छ, खुलेर नभए पनि मनमनै प्रशंसा गरे विरोधीहरूले समेत ।
त यस्तो ऊर्जाको स्रोत के होला त ? एउटा भनाइ छ– सत्ताबाट शक्ति मिल्छ, सत्ताले व्यक्तिमा जोस, ऊर्जा र उसभित्र लुकेर रहेको स्रोत पूरै जगाइदिन्छ । भारतकै एक उदाहरण हेरौँ, पूर्वप्रधानमन्त्री नरसिम्हा राव अवकाशको जीवन बाँचिरहेका थिए । उनको स्वास्थ्य पनि ठीक थिएन । तर, संयोगवश प्रधानमन्त्रीको पद प्राप्त हुनेबित्तिकै उनमा उत्साह र जिजीविषा जागृत हुन पुग्यो र उनले आफ्नो पाँचवर्षे कार्यकाल आरामले पूरा गरे । त्यो उच्च पदमा नरहेको भए उनी त्यति समय जीवित रहन पनि सक्ने थिएनन् भनी विश्लेषण गर्नेहरूको कमी छै्रन । यस्तै, भारतका पहिलो गैरकाङ्ग्रेसी प्रधानमन्त्री मोरारजी देसाई ८० वर्षभन्दा ज्यादा उमेरमा प्रधानमन्त्री बनेका थिए, तथापि उनी लगातार सक्रिय रहे । भन्नेहरूले त भनेका छन्, देसाईको लामो उमेर र सक्रियताको कारकतŒव उनको स्वमूत्रपान गर्ने आदत नै थियो ।
मोदीको सन्दर्भमा चाहिँ के कुराले उनी यति ऊर्जावान देखिएका हुन्, यकिन गर्न कसैले सकेका छैनन् । हरेक चुनावीसभामा उनी पहिले नै तयार गरिएको बुँदाका आधारमा भाषण गर्ने हुनाले पनि होला, उनका हरेक भाषण प्रभावशाली र बहुचर्चाको विषय बन्न पुगे । उनको हाउभाउ र प्रस्तुति देख्ने जो–कोहीमा पनि यही भाव जागृत हुन्थ्यो कि अवश्यमेव देशका भावी प्रधानमन्त्री मोदी नै हुन्, अरू कोही होइन । सायद उनको आत्मविश्वास नै उनको अक्षय ऊर्जा र जिजीविषाको स्रोत हो, जसको बलमा मोदीले लगातार सयौँ चुनावी -याली, सभा र रो शो गर्न सके । यसैले त सुरुमा मोदीलाई जब चुनाव प्रचार अभियानका मुख्य प्रचारक चुनिएको थियो, सबैले यकिन गरेका थिए कि उनी व्यस्तभन्दा व्यस्त दिनचर्याका बाबजुद पार्टीप्रति आकर्षण जगाउन पूरापूर सक्षम सावित हुनेछन् । भयो पनि त्यस्तै । उनले अपेक्षा गरिएभन्दा बढी नै काम देखाए । उनी यसै पनि भाषणबाजीमा माहिर व्यक्ति नै हुन्, त्यसमाथि यसपटकको चुनावमा त उनले कमाल नै देखाए । कैयनले ठानेका थिए कि मोदीले आफूकेन्द्रित कुरा मात्र गर्नेछन्, तर उनले सिङ्गो भाजपालाई उकास्न भरमग्दुर प्रयत्न गरे र निकै हदसम्म सफलता पनि पाए । पार्टीका यावत् वरिष्ठ नेताहरूसमेत मोदीको छायामा परेको अनुभव सर्वत्र गरियो । प्रधानमन्त्री पदकै आकाङ्क्षी वरिष्ठ नेता लालकृष्ण आडवाणीलगायतलाई ओझेलमा पारेर उनी एक्लै पार्टीको ‘पोस्टर ब्वाय’ बन्न पुगे । मोदीको राजनीतिक करियरमा यो अहम् महŒवको कुरा हो ।
मोदीको एक्लो प्रयासकै कारण भाजपालाई दुई सयको हाराहारीमा सिट मिल्ने अनुमान गरिएको छ । भारतको प्रधानमन्त्रीकै कुर्सीमा मोदी पुग्लान्–नपुग्लान्, अहिले नै यकिन गर्न नसकिएला, तर आगामी सरकार निर्माणमा मोदीको भूमिका अत्यन्त महŒवशाली हुनेमा कुनै सन्देह छैन । यसरी गुजरातका मुख्यमन्त्री हुनुको नाताले एक क्षेत्रीय नेताको हैसियतमा रहेका नरेन्द्र मोदी यस वर्षको चुनावी माहोलपछि सशक्त राष्ट्रिय नेताको रूपमा स्थापित हुन पुगेका छन् । र, यसको प्रमुख कारण नै उनमा रहेको भरपूर आत्मविश्वास र ढल्कँदो उमेरमा पनि उदेकलाग्दो हिसाबले उदाएको ऊर्जा नै हो भन्नेमा कमैले मात्र विमति जनाउन सक्छन् । (एजेन्सीहरूको सहयोगमा)