कीर्तिनिधिको भ्रम र कोइरालाको वास्तविकता

कीर्तिनिधिको भ्रम र कोइरालाको वास्तविकता


special-articleहात्तीमाथि चढ्ने मानिसले आफ्नो उचाइ बढेको ठान्नु भ्रम हो, हिमाल चढ्नेले आफू आकाशिएको ठानेजस्तै । मानिस विभिन्न प्रकारले उचाइ प्राप्त गर्न सक्दछन्– ज्ञान, संस्कार, सोच, बौद्धिकता र व्यवहारको उच्चतालाई मानसिक उचाइका रूपमा बुझ्न सकिन्छ भने धन र पदले दिने उचाइलाई भौतिक भन्नु उपयुक्त हुन्छ । मानसिक स्तर उच्च भएका मानिस कम भ्रमित हुन्छन् या भ्रमित हुँदै हुँदैनन् । तर, धन या पदले उचालिएका मानिसको मानसिक पक्ष दुर्बल छ भने ऊ सधैँ भ्रममा रहन्छ । कुनै राजनीतिकर्मीले गृहमन्त्रीको जिम्मेवारी प्राप्त गरे भने प्राप्त अधिकार (शक्ति)ले उनलाई साधारण मानिसभन्दा पृथक भएको अनुभूति गराउँछ र उनका सोच–व्यवहार बदलिन थाल्छन् । समग्रमा तिनले आफैँलाई पद ठान्न थाल्छन्, गृहमन्त्री नामको पदले गर्नुपर्ने काम गरिरहँदा उनी आफैँले केही गरिरहेका ठान्छन् । पदमुक्त भएपछि मात्र ती व्यक्ति भ्रममुक्त हुन्छन् र धरातलीय वास्तविकताको नजिक पुग्छन् ।
०४६ सम्म मुलुकमा पञ्चायती निर्दलीय व्यवस्था अस्तित्वमा थियो र नेपाली राजनीतिमा पञ्चहरूको दबदबा थामिनसक्नु थियो । जब पञ्चायत विस्थापित भयो त्यसपछि पञ्चहरू सदाका निम्ति सकिएको हामीमध्ये धेरैले ठान्यौँ । यसरी जीवनको लामो समय पावरमा रहेका व्यक्तिहरू एकाएक शक्ति र सत्ताहीन भएपछि तिनको मनोदशा कस्तो भयो होला भन्ने जिज्ञाशा मभित्र पैदा भयो र पञ्चहरूमध्ये उचाइप्राप्त गरेका व्यक्ति कीर्तिनिधि विष्टलाई भेट्न उहाँको घरमा पुगेँ । मैले जिज्ञाशा राखेँ, ‘तपाईं सधैँ कुनै न कुनै रूपले पावरमा रहँदै आउनुभएको व्यक्ति, यसरी अचानक सदाका निम्ति शक्तिहीन बन्नुपर्दा कस्तो महसुस भइरहेको छ ?’ विष्टले हाँस्दै भन्नुभएको थियो, ‘राजनीतिमा यस्ता उतारचढावहरू भइरहन्छन्, मैले परिवर्तनलाई सहजै स्वीकार गरेको छु ।’ त्यसपछि मैले अर्को प्रश्न राखेँ, ‘पावरको राजनीतिमा रहँदा तपाईंले महसुस गरेको एउटा अनौठो अनुभूति के हो ?’ विष्टको जवाफ थियो, ‘जब म सत्ताभन्दा बाहिर थिएँ, मैले देश र जनताका समस्या प्रस्ट रूपमा देख्थेँ र सोच्थेँ– म प्रधानमन्त्री बनेँ भने देखिएका सबै समस्या सहजै समाधान गर्नेछु । नभन्दै मलाई प्रधानमन्त्री बन्ने मौका पनि मिल्यो, प्रधानमन्त्री बनेपछि देखिएका समस्या र त्यसको समाधानका उपायहरू पहिचान गरी समाधान गर्ने अग्रसरता लिएँ । प्रशासनिक र प्रक्रियागत ढङ्गले समस्याको पहिचान गर्न खोज्दा मैले कुनै समस्या नै भेटिनँ, सबै ठीकठाक चलिरहेको देख्न थालेँ । आफू प्रधानमन्त्री बन्दा अन्यले भन्दा राम्रो र धेरै काम गरेको अनुभूति मलाई भयो । एक दिन जब म सत्ताबाट बाहिरिएँ, तल आउनेबित्तिकै मलाई आफूबाट कुनै काम नभएको महसुस भयो, समस्याहरू जस्ताको त्यस्तै जहाँको त्यहीँ रहेको पाएँ र सोचेँ– अब फेरि प्रधानमन्त्री बन्ने अवसर आयो भने कुनै हालतमा चुक्ने छैन, एक–एक समस्याको समाधान गर्नेछु । कालान्तरमा मलाई दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका पनि मिल्यो । म समस्या समाधान गर्न प्रक्रियागत ढङ्गले क्रियाशील भएँ, तर फेरि पनि सबै ठीकठाक चलिरहेको देख्न थालेँ । हरेक समस्या समाधानका निम्ति राज्यबाट ठीक ढङ्गले काम भइरहेको विश्वास मलाई भयो । तर, प्रधानमन्त्री पदबाट मुक्त भएर बाहिर आएपछि मैले निकै पहिले देखेका समस्याहरू फेरि पनि जस्ताको त्यस्तै रहेको पाएँ । यही क्रम मेरो राजनीतिक जीवनयात्रामा बारम्बार चलिरह्यो । यो नै मेरो आश्चर्यजनक अनुभूतिका रूपमा रहेको छ ।’
कीर्तिनिधि विष्टका भ्रम र वास्तविकताको अनुभूतिभन्दा पृथक स्थिति अहिले पनि देखिएको छैन । स्वच्छ छविका इमानदार मानिएका नेता सुशील कोइरालाले प्रधानमन्त्री बन्नुअघि अनुभूत गरेका समस्या प्रधानमन्त्री बनिसकेपछि महसुस गर्नुभएको होला भन्न विद्यमान वास्तविकताले दिइरहेको छैन ।
सत्ताकेन्द्रमा रहेका बेला तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र, तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग पनि पटकपटक भेटवार्ताको मौका मैले पाएको थिएँ । उल्लिखित तीन व्यक्तिका पृष्ठभूमि र सैद्धान्तिक–वैचारिक धरातलबीच गहिरो अन्तर थियो । तथापि तीनैजनामा मनोवैज्ञानिक समानता रहेको महसुस मैले गरेको थिएँ । ‘म सबभन्दा ठीक छु, अन्यले भन्दा बढी राम्रो काम गरिरहेको छु र मैले जे गरिरहेको छु त्यो मात्र ठीक छ, म जे सोचिरहेको छु ठीक सोचिरहेको छु र मबाहेक बाँकी सबै गलत छन्’ तीनैजनाको सोचमा एकैप्रकारको समानता देखिएको थियो । सायद सत्ताकेन्द्रमा पुग्दा सबैले यसरी नै सोच्ने गर्दछन् ।
संयुक्त सरकार भएकोले कुनै पनि महत्वपूर्ण निर्णय लिनुअघि आपसी सहमति बन्नुपर्ने कारणले निर्णय प्रक्रियाको गति सुस्त हुनुलाई स्वाभाविक मान्नुपर्ने हुन्छ । तर, तत्काल सहमति बन्न सक्ने विषयहरूमा समेत निर्णय नहुनुले सरकारको अकर्मण्यता जाहेर गरेको छ । कर्मचारीहरूको सरुवा–बढुवा, राष्ट्रिय योजना आयोगमा रिक्त पदपूर्ति, संवैधानिक नियकाहरूमा नियुक्ति, राजदूतहरूको चयन, विभिन्न निकायमा राजनीतिक नियुक्ति, संविधानसभा या संसद्मा समितिहरूको गठनजस्ता कार्यलाई सरकारको मूलकर्मका रूपमा बुझ्नुहुँदैन । सरकारको मुख्य काम त दैनिक प्रशासन चलाउनु, शान्ति–सुव्यवस्था कायम राख्नु, औद्योगिक वातावरण बनाउनु र आर्थिक विकास र समृद्धिका निम्ति आवश्यक निर्णय लिनु हो । काठमाडौंबाट पोखरासम्मको यात्रा तय गर्नुपर्ने व्यक्तिले बसको ढोका खोल्नु, सिटमा बस्नु र झ्याल खोल्नु या बन्द गर्नुजस्ता क्रियाकलापलाई नै मुख्य काम ठान्यो भने के त्यो व्यक्तिको यात्रा सफल हुनसक्ला ? एउटा क्रिकेटरले ब्याट या बल हातमा लिनुलाई नै मुख्य काम ठान्यो भने उसको खेलबाट विजयको आशा कसरी गर्न सकिएला ? वर्तमान सरकारको हविगत त्यस्तै निकम्मा यात्रीको जस्तै भएको छ जसले सवारीसाधनमा चढ्नु, सिटमा बस्नु, झ्याल खोल्नु या बन्द गर्नु मात्रलाई निकै ठूलो उपलब्धि मानेको छ । मन्त्रिमण्डलमा सामेल भएका डा. रामशरण महत, डा. नारायण खड्का र लालबाबु पण्डितलगायत केही सीमितले आ–आफ्ना विभागीय काममा अग्रता लिएको देखिन्छ, महेन्द्र पाण्डे, डा. मीनेन्द्र रिजाल र वामदेव गौतमको सक्रियताले पनि सरकारको अनुभूति गराएको छ । तर, प्रधानमन्त्रीले निर्णय दिन ढिलाइ गर्नाले तिनका काममा समेत अपेक्षित गति पैदा भएको ठानिँदैन । विभिन्न क्षेत्रका मानिससँगको भेटघाट, छलफल र परामर्श गर्न उदासीन रहनु, सीमित मानिसको घेरमा रहनु, निर्णय लिन विलम्ब गर्नु, आफ्ना शुभचिन्तक र हितैषीहरूलाई समेत चिढ्याउनु र कुनै प्रकारको नयाँपन दिन नसक्नुलाई सुशील कोइरालाको मूल विशेषताका रूपमा लिन थालिएको छ । यद्यपि उहाँमा पनि कीर्तिनिधि विष्टलाई जस्तै आफूले ‘गज्जब’ गरिरहेको भ्रम पैदा भएको हुनसक्छ । सुशील कोइराला प्रधानमन्त्री भएर पनि आफ्नो स्वच्छता यथावत् राख्दै बाहिरिनेमा जति सचेत देखिनुहुन्छ, ‘केही गर्ने’बारेमा पनि त्यत्तिकै सचेत हुनु भइदिएको भए एक सफल प्रधानमन्त्रीका रूपमा उहाँको नाम ‘रेकर्डेड’ हुन सम्भव थियो । प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नेले आफ्नो शुद्धता प्रमाणित गर्नमा मात्र सम्पूर्ण व्यवहार केन्द्रित गर्न थाल्दा प्रकट हुने समस्या यतिबेला नेपालले व्यहोरिरहेको छ । सुशील कोइरालाको छवि पहिलेदेखि नै सकारात्मक छ र प्रधानमन्त्री पदलाई आफ्नो स्वार्थका निम्ति प्रयोग–उपयोग गर्नुहुने छैन भन्ने विश्वास पनि अद्यापि कायम छ । तर, ‘सुशील कोइरालाको शुद्धता जाँचको लागि उहाँलाई प्रधानमन्त्री बनाइएको होइन, देशका लागि के–कति गर्न सक्नुहुन्छ भन्ने आधारमा कोइरालाको मूल्याङ्कन हुनेछ । कोइरालाको इमानदारीमाथि खासै शङ्का उत्पन्न भइनसकेकोे यस घडीमा निर्णय प्रक्रियालाई गति दिन र अलिक फराकिलो बन्न प्रयास गर्दा उहाँको आफ्नै व्यक्तित्व थप उज्यालिने हो । आफूलाई बदल्न सकिँदैन र विद्यमान रूप र शैलीमै जडवत् रहिरहने हो भने कोइराला पनि कीर्तिनिधि विष्ट र अरूहरूझैँ भ्रममा बाँचिरहेको पुष्टि अवश्य हुनेछ ।