नेपाल र भारतको सम्बन्धका आधारस्तम्भ – इन्द्रबहादुर बराल

नेपाल र भारतको सम्बन्धका आधारस्तम्भ – इन्द्रबहादुर बराल


bicharनेपालमा पञ्चायती कालखण्डदेखि हालसम्म पनि छिमेकी मित्रराष्ट्र भारतको विरोधमा केही न केही स्वर कतै न कतै गुञ्जने गरेको पाइन्छ । यस्तो विरोधको आधार कति सत्य या कृत्रिम छ भन्ने बेग्लै अनुसन्धानको पाटो हुन सक्छ । विरोधमा केही सत्यता हुन सक्ला, तर यस्तो विरोध अतिरञ्जनापूर्ण छ भन्ने सहजै आँकलन गर्न सकिन्छ । भारतलाई विस्तारवादीको आरोपमा सत्तोसराप गर्दा नेपालमा महान् नेता भइने झुटो विश्वासले पनि भारतविरोधी गतिविधि गरिएको हुनसक्छ । तथापि दुई छिमेकीको विरोध र समर्थनका कारण यथार्थपरक र पूर्वाग्रहरहित हुन सके मात्र त्यो न्यायपूर्ण हुन्छ । दक्षिणी छिमेकको समर्थन गर्दा उत्तरको विरोध वा दक्षिणको विरोध गर्दा उत्तरको समर्थनजस्तो भान नेपालको राजनीतिमा प्रस्टै झल्किन्छ । त्यही कारणले नेपालले दुई महान् छिमेकी राष्ट्रबाट प्राप्त गर्ने सहयोग र समर्थन जुन रूपमा प्राप्त गर्नुपर्ने हो, त्यो हुन सकेको छ भन्न सकिँदैन । त्यसैले अबका दिनमा नेपालले अत्यन्त सन्तुलित रूपमा दुई छिमेकीसँगको सम्बन्ध सुदृढ गर्नुपर्छ ।
उत्तर चीनलाई विश्वासमा लिएर दक्षिण भारतसँगको सम्बन्धका आधारस्तम्भबारे स्पष्ट धारणाहरू सार्वजनिक बहसको विषय बनाइनुपर्छ । नेपालमा विशेष गरेर कम्युनिस्ट आन्दोलनहरू र पञ्चायतकालीन शासकहरूमध्ये अनुदारवादीहरू राष्ट्रवादका नाममा उत्तरतिर लहसिएर दक्षिणको अप्रत्यक्ष विरोध गर्न पछि परेनन् । त्यसैले पनि भारतीयहरू सशङ्कित हुने स्थिति देखाप¥यो । यी र यस्तै कारणले दुई देशबीचको सम्बन्धमा दरिलो विश्वास पैदा हुन सकेन । यस्ता कूटनीतिक सम्बन्धमा नेपालको परराष्ट्रनीति पनि कमजोर देखियो । एनेकपा माओवादीको हेटौँडा सम्मेलनपछि भारतलाई हेर्ने दृष्टिकोणमा आएको सकारात्मक सोचले निश्चय पनि नेपाल–भारत सम्बन्धलाई मलजल गरेकै हुनुपर्छ । खोक्रो राष्ट्रवादको वकालत गर्ने उग्रदक्षिणपन्थीहरूको नेपाली राजनीतिक मैदानमा उपस्थिति शून्यजस्तै हुनुले पनि भारतको प्रगाढ सम्बन्धमा आँच पुग्ने सम्भावना अब न्यून देखिन्छ । त्यसकारण पनि नेपाल–भारतको सम्बन्धबारे नकारात्मक आवाजहरू निस्तेज र निष्प्रभावी हुँदै गरेको आभाष पाइन्छ । यसको मतलब दुई छिमेकीसँगको सम्बन्ध नबिग्रियोस् भन्नाका लागि नेपालीले आफ्नो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै दुई देशबीचको सम्बन्धलाई अन्य दृष्टिबाट पनि मजबुत बनाउन दुवै देशको हित प्रवद्र्धन हुने आधारस्तम्भहरू खडा गर्नु थप कर्तव्य देखिन्छ ।
नेपाल–भारत दुईदेशीय सम्बन्धका केही परम्परागत आधारहरू विद्यमान छन् । जुन आधारहरूको सम्बन्धमा न कुनै नेपाली अनभिज्ञ छ न त भारतीय नै । नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक मात्र नभई सोझै जनस्तरमा जरा गाडेर बसेको हुनाले कसैले चाहँदैमा मित्रताको बलियो गाँठो फुस्कँदैन । यो नै नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको अटल आधारस्तम्भ हो । व्यक्ति–व्यक्तिबीचको सम्बन्धलाई कुनै एक देशको भौगोलिक सीमाले रोक्न सक्दैन । आजको दुनियाँ एउटै गाउँ भइसकेको अवस्थामा अझै पनि कुवाको भ्यागुतो बन्नु असभ्यताको पहिचानबाहेक के नै होला ? तसर्थ जनस्तरसम्म पुगेको अभेद्य सम्बन्धलाई तहसनहस पार्ने षड्यन्त्रहरू आफैँ बिलाएर जान्छन् । भारतको विरोध गरेर राष्ट्रवादी कहलिने दिन अब गए । आवश्यक परे बरु दुई देशबीचको सम्बन्धका आधारहरूमा पुनव्र्याख्या वा पुनर्विचार गरिनुपर्ने खण्डमा खुला दिलले समर्थन गर्नुपर्छ, नाइँनास्ती गर्न मिल्दैन । सम्बन्धका दुईपक्षीय आधारहरूमध्ये धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र सामाजिक एवम् पारिवारिक सम्बन्धले अझै प्रगाढ बनाएको सन्दर्भमा हालै भारतको १६औँ लोकसभाको निर्वाचन र त्यस निर्वाचनको परिणामले ल्याएका परिवर्तनबाट नेपालले अधिकतम् फाइदा उठाउन वर्तमान नेपाल सरकारले यसलाई एक महत्वपूर्ण अवसरको रूपमा ग्रहण गर्नुपर्छ ।
भारतसँग नेपालको कूटनीतिक सम्बन्धमा बेलाबखत देखिने चिसोपनलाई पुनर्मूल्याङ्कनको आधारमा सच्याउनुपर्छ । भारतमा आएको परिवर्तन र त्यसको नेपालमा पर्न सक्ने प्रभावबारे पनि नेपालले मानसिक रूपमा तम्तयार भएर बस्नुपर्छ । भारतीय लोकसभाको चुनावअघि र पछिका केही अनौपचारिक प्रतिक्रियाहरूले कतै असमझदारी बढाउने त होइन भन्ने आशङ्का गरिँदै छ । यद्यपि त्यस्तो आशङ्का ‘वनको बाघले खाओस्–नखाओस् मनको बाघले खान्छ’ भनेजस्तै हो । भारतीय भूमिमा हिन्दूवादी पार्टी भनेर चिनिने भारतीय जनता पार्टी र त्यस पार्टीका करिस्म्याट्रिक नेता मोदीको दिग्विजयले नेपाल तर्सनुपर्नेे कुनै सङ्केत देखिँदैन । हुन त नेपालका आफूलाई हिन्दूवादी र राजावादी भन्नेहरूको चुरीफुरी यतिबेला अनावश्यक रूपले बढेको छ । तथापि त्यस्ता चुरीफुरीको प्रभावले नेपालको परिवर्तित राजनीतिमा कुनै नकारात्मक असर भने पर्ने छैन । भारतजस्तो महान् राष्ट्रले नेपालजस्तो असल छिमेकी राष्ट्रलाई अपरिपक्व र हेपाहाशैलीले होच्याउने वा आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भनी विश्वास गर्न सकिँदैन । हतारमा अहिले नै अनेक शङ्का–उपशङ्का गर्नु निश्चिय पनि केटाकेटीपन हुनेछ । परिपक्व र दृढ विचारले मात्र दुई देशबीचको सम्बन्धलाई अरू प्रगाढ बनाउन सकिन्छ, र यो नै अहिलेको कार्यभार पनि हो ।
अन्तमा, नेपाल र भारतको बहुआयामिक सम्बन्ध अत्यन्तै पुरानो र भ्रातृत्वपूर्ण छ । यी दुई देशबीचको सम्बन्ध बिगारेर कसैको पनि हित सुरक्षित हुँदैन । सामाजिक, धार्मिक, सांस्कृतिक र परम्परागत रूपमा समान देखिने सम्बन्ध नै नेपाल–भारतको अभेद्य सम्बन्ध हो । निश्चय पनि सरकार परिवर्तनले नेपाल र भारतको सम्बन्धमा कुनै नकारात्मक प्रभाव पर्ने छैन । त्यसमाथि नरेन्द्र मोदीजस्तो ‘महानायकत्व’को नेतृत्वयुक्त सरकारबाट नेपाल तर्सन वा झस्कन पर्दैन भनी विश्वास गर्नु अन्यथा हुनै सक्दैन । तथापि, नेपाल सरकार र सरकारको नेतृत्व गर्ने नेता वा पार्टीले भने आफ्नो कूटनीतिक क्षमता कति सन्तुलित एवम् संयमित ढङ्गले प्रस्तुत गर्ने हुन्, त्यो हेर्न बाँकी छ ।