देशलाई ‘गणतान्त्रिक नेपाल’ घोषणा गरिएको ६ वर्ष बितिसकेको छ । गणतन्त्रका उपलब्धि संस्थागत गर्ने सवालमा यत्तिका अवधिलाई कम मान्न सकिन्न । तर, यसबीच राज्यले आफ्ना अवयवमा गणतन्त्रलाई कति प्रसार गर्न सक्यो, गणतन्त्रको प्रत्याभूति जनताले के–कति अनुभूति गर्न सके भनी प्रश्न उठाइयो भने जवाफ सकारात्मक आउने अवस्था अझै बनेको छैन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै स्वरूपमा देशले गणतन्त्रलाई आमजनतामाझ प्रत्याभूत गराउन सकेकै छैन । उल्टै, राज्य सञ्चालक तथा आफूलाई लोकतन्त्रको रक्षक र सारथि ठान्ने राजनीतिक दल तथा दलका नेताहरूमा कुनै न कुनै रूपमा सामन्ती सोच, संस्कार र व्यवहार हुर्किंदै गएको अनुभूति हुन्छ । सोझो र प्रस्ट भाषा प्रयोग गर्ने हो भने हामीकहाँ गणतन्त्र लागू गरिएयताको अवधिमा व्यवस्था गणतन्त्र सोच सामन्ती, जनता गणतन्त्र नेता एकतन्त्री, प्रणाली गणतन्त्र व्यवहार हुकुमी, अनि नारा गणतन्त्र प्रक्रिया निरङ्कुश हुँदै गएको हरेक तह–तप्काले महसुस गरेका छन् । वास्तवमै, जनतामा गणतन्त्रको अतृप्तता व्याप्त बनेको छ । तथापि, जनतामा पन्पिरहेको असन्तुष्टि र अतृप्तताकै बीच ‘गणतन्त्र दिवस धुमधामले मनाउनुपर्ने’ खोक्रो आदर्श छाँटिरहेका हुन्छौँ हामी ।
गणतन्त्रको वास्तविक प्रतिफल चाख्न उत्सुक नेपालीले यसबीचमा गणतन्त्र कति पाए कति पाएनन्, यसको लेखाजोखाको प्रयत्नै नगरिनु गणतन्त्र पक्षधर सबैको कमजोरी हो । ‘गणतन्त्र’मा यसरी ‘गण’ उपेक्षित हुने र व्यक्तिविशेषको बोलवाला चल्ने संस्कार विकसित हुन थालेपछि गणतन्त्र संस्थागत हुने विश्वास गर्नै सकिन्न । ‘एउटा राजा फालिए, तर सयौँ राजा सतहमा आए’ भन्ने वाक्य आज जनजिब्रोमा यसरी झुन्डिन थालेको छ कि कतै शासन–व्यवस्थामध्येको उत्तम व्यवस्था भनेर चिनिने लोकतान्त्रिक परिपाटी या गणतन्त्रलाई नै निलिदिने खतरा उत्पन्न गराइरहेको त छैन भन्ने सवाल पैदा भएको छ, यो विडम्बनाको विषय हो । गणतन्त्रले वास्तविक स्वभावमा संस्थागत हुन नपाएको अवस्थाको परिणतिस्वरूप आज लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा जाग्ने–जगाउने परिवेश निर्माण हुँदै छ । गणतन्त्रका निम्ति तिर्खाएका जनतासम्म गणतन्त्रको प्रतिफल पुग्ने सङ्केत यत्तिका वर्षसम्म नदेखिनुको परिणति हो यो । त्यसैले, गणतन्त्र दिवस मनाउँदै गर्दा राजनीतिक नेतृत्व र सक्रिय तहका राजनीतिक कार्यकर्ता सबैले एकपटक गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नु आवश्यक छ कि आफू कति गणतान्त्रिक भइयो, संस्थागत गणतन्त्रको अभ्यासका लागि के–कति गरियो या त्यसको बर्खिलाप हुने आचरणमा पो प्रस्तुत भइयो कि ? लोकतान्त्रिक गणतन्त्र संसारमै सबैभन्दा बढी मन पराइएको शासन व्यवस्था भएको रट लगाएर मात्र अब काम चल्दैन । किनकि, यो फगत राजनीतिक व्यवस्था या आदर्श नभई राजनीतिक सभ्यता र व्यवहार पनि हो । जनताको उन्नति र सहजताको आभास गराउने यसको वास्तविक परिभाषा हो । यो साधन नभई साध्य हो । साधन त हाम्रो प्रणाली हो, प्रवृत्ति हो, व्यवहार हो, सोच र शैली हो । यस्ता साधनको परिचालन सही रूपले भएमा स्वतः गणतन्त्रको वास्तविक सुस्वादले जनताको हृदय छुन सक्छ भन्ने कुरा अकाट्य छ ।
आज आमनेपाली गणतन्त्र दिवस मनाउनुको अर्थ र औचित्य खोजिरहेका छन् । देश गणतन्त्र भएर पनि जनतामा गणतन्त्र छाउन नसक्नुको द्योतक हो यो । कतै जनचाहनाबाट नभई अन्य कारकतत्व माध्यम बनेर त ‘गणतन्त्र’ आएको होइन भन्ने शङ्का यस्तै बेला उठ््न सक्छ । नेता गणतान्त्रिक नभई शासन गणतान्त्रिक बन्न सक्दैन भन्ने कुरा आदर्श या उपदेश नभई यतिबेला उठाउनैपर्ने नारा बन्न पुगेको छ । लगातारको त्रुटि र कमजोरीले हिजोका शासन व्यवस्थालाई जस्तै गणतन्त्रलाई नै खाइदियो भने यसको जिम्मेवारी राजनीतिक नेतृत्वले लिने कि नलिने ? यसर्थ, कमसेकम संविधानसभामा रहेका प्रत्येक राजनीतिक दलले पहिले आफूलाई गणतान्त्रिक बनाउनुपर्छ, अनि मात्र गणतन्त्र संस्थागत गर्ने बाटोका तगारा पन्छिने अपेक्षा गर्न सकिन्छ । गणतन्त्रलाई हरेक नेपालीजनमा अनुभूत गराउन त राजनीतिक व्यवहारमै गणतान्त्रिक सचेतनाको आवश्यकता छ । जनतामा असन्तोष र अतृप्तताले विस्फोटको रूप लिनुअघि नै सरोकारवाला सबैले यो मनन गर्नु अपरिहार्य छ ।
प्रतिक्रिया