विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।
नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महिनाको विवरणअनुसार भारतसँग रु. दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजारबराबरको व्यापार घाटा छ । भारतबाट मात्रै रु. दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजारबराबरको माल वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने रु. १३ अर्ब १६ करोड ४२ लाख १४ हजारबराबरको वस्तु मात्रै निर्यात भएको छ ।
व्यापार घाटाको दोस्रो स्थानमा रहेको चीनबाट पछिल्लो तीन महिनामा रु. ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजारबराबरको वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट रु. ५६ करोड ४० लाखबराबरको माल वस्तु मात्रै निर्यात भएको छ । नेपाल र चीनबीचको व्यापार घाटा रु. ५२ अर्ब ५५ करोड १५ लाख ८९ हजार रहेको छ ।
नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । रु. १४ अर्ब २६ करोड ५३ लाखबराबरको माल वस्तु सो देशबाट आयात भएको छ भने नेपालबाट रु. ३५ करोड २२ लाख ८८ हजारबराबरको सामान मात्रै निर्यात हुँदा व्यापार घाटा रु. १३ अर्ब ९१ करोड ३० लाख १३ हजार हुन पुगेको छ ।
यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । उक्त देशबाट रु. सात अर्ब ९० करोड ८३ लाख ८५ हजारबराबरको सामान आयात भएकोमा नेपालबाट रु. तीन करोड ७५ लाख ४७ हजारबराबरको सामान मात्रै निर्यात भएको छ । सो देशसँग नेपालको व्यापार घाटा रु. सात अर्ब ८७ करोड ८३ लाख ८० हजारबराबर छ ।
नेपालको व्यापार घाटा रहेका देशमा थाइल्यान्ड, स्विट्जरल्यान्ड, इन्डोनेसिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अस्टे«लिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिंगापुर, हङकङलगायत ११२ देश रहेका छन् । अल्बानियाबाट रु. एक लाख १४ हजारबराबरको माल सामान आयात भएको छ भने नेपालबाट सो देशमा कुनै पनि माल वस्तु निर्यात हुन सकेको छैन ।
रुवान्डाबाट रु. एक लाख २२ हजारबराबरको मालसामान आयात भएकामा नेपालबाट रु. दुई लाख २० हजारबराबरको निर्यात भएको छ । संयुक्त राज्य अमेरिकासँग भने नेपालको व्यापारमा फाइदा रहेको विभागको पछिल्लो विवरणमा उल्लेख छ । अमेरिकामा रु. तीन अर्ब १९ करोड ७८ लाख ५९ हजारबराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा रु. दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजारबराबरको समान आयात भएकोमा रु. ६६ करोड ८३ लाखबराबरको नाफा रहेको छ ।
नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्यान्ड, अस्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेवनान, एल साल्भाडोर, उरुग्वे, साइप्रसलगायतका देश छन् । पछिल्लो तीन महिनामा रु. तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजारबराबरको व्यापार घाटा हुन पुगेको छ । कुल रु. तीन खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजारबराबरको मालवस्तु आयात हुँदा रु. २३ अर्ब ७४ करोड ४९ लाख ३० हजारबराबरको मात्रै निर्यात हुन सकेको छ ।
रासस
प्रतिक्रिया