भूमिगत विद्युत् प्रणालीका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

भूमिगत विद्युत् प्रणालीका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान


नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

काठमाडौं उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले अनुमानित लागतभन्दा महँगो दर आएपछि करिब १० महिनाअघि शुरु गरिएको बोलपत्र प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको जनाएको छ ।

प्राधिकरणले आज ४५ दिनको समयसीमा राखी बोलपत्र आह्वान गरेको हो । काम गर्न इच्छुक कम्पनीले आगामी २७ मंसिरसम्ममा आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । ठेक्का प्रक्रियामा सिर्जना भएको जटिलताले गर्दा काममा ढिलाइ हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त योजनालाई रणनीतिक महत्वको योजनाको रूपमा अगाडि सारेका छन् ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले आयोजनामा सहुलितपूर्ण ऋण लगानी गर्ने दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को खरिद निर्देशिकाअनुसार पुनः बोलपत्र आह्वान गरिएको जानकारी दिए । पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसीलगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागेको हो ।

यसअघिको बोलपत्रमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम गर्न भारतीय कम्पनी क्रमशः लार्सन एन्ड टर्बो र केईआई इन्डष्ट्रिज लिमिटेडले सबैभन्दा कम रकम प्रस्ताव गरेका थिए ।

दुवै कम्पनीले प्रस्ताव गरेको रकम प्राधिकरणले तय गरेको अनुमानित लागतभन्दा बढी रहेको थियो । त्यसैले एडीबीको खरिद निर्देशिकाअनुसार पुरानो प्रक्रियालाई रद्द गरी नयाँ प्रक्रिया शुरु गरिएको हो ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्नेछ । पहिलोचरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र चार सय भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिनेछ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिनेछ । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिछ्याउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्मार्ट मिटर) जडान गरिने योजना छ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइनेछ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्ने विधि अपनाउने तयारीमा प्राधिकरण रहेको छ ।

रासस