अवकाशप्राप्त प्राध्यापकहरूको संस्था ‘जेष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै दुई जना विशेषज्ञहरूबाट विद्वत् प्रवचन प्रस्तुत गरेको छ । विश्व अल्जाइमर्स दिवसको मेसो पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. चुडाबहादुर कार्कीले अल्जाइमर्स र डिमेन्सिया रोगका बारेमा जानकारी दिए । विश्वको तथ्याङ्कअनुसार डिमेन्सिया हरेक पाँच वर्षमा दोब्बर बढ्दै गएको बताउँदै जेष्ठ नागरिकहरू यसप्रति सचेत हुनुपर्ने उल्लेख गरे ।
डा. कार्कीले डिमेन्सियाले स्मरणशक्ति, तर्कशक्ति, सोच्ने शक्तिमा ह्रास ल्याउने हुँदा हरेक व्यक्तिले आफूलाई सक्रिय राख्नुपर्नेमा जोड दिए । उनले डिमेन्सियाका लक्षणहरूबारे जानकारी दिँदै भने, ‘सामान्यतया ६५ वर्षपछि डिमेन्सिया हुनसक्ने सम्भावना भएकोले उमेर पुगेका हरेकले आफ्नो जीवनशैलीलाई सन्तुलित राख्नुपर्ने हुन्छ । हरेक व्यक्तिले सन्तुलित आहारविहार, शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । नियमित स्वास्थ्य जाँचका लागि डाक्टरसँग सम्पर्कमा रहनु पर्छ ।’
कार्यक्रममा प्रा.डा. लोचना श्रेष्ठले बोल्दै डिमेन्सिया र अल्जाइमर्सबाट बच्न तथा मस्तिष्कलाई सक्रिय राख्न खानपान र व्यायामसँगै पढ्ने, लेख्ने, संगीत सुन्ने, सिनेमा हेर्ने, घुमफिर गर्नेजस्ता क्रियाकलाप गर्न सुझाइन् । उनले आराम हराम भएकाले आफूलाई सक्दो व्यस्त राख्न सबैसँग आग्रह गरिन् ।
उक्तअवसरमा शिक्षाविद् प्रा. सुरेशराज शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए ।
समाजका संस्थापक अध्यक्ष वसन्त गौतमले संस्था स्थापनाका प्रारम्भिक दिनको सम्झना गर्दै यसले गर्दै आएका कामबारे जानकारी दिए ।
समाजका अध्यक्ष डा. विमलकुमार शर्माले जेष्ठ प्राध्यापकहरूको हितका लागि आफूहरू क्रियाशील रहँदै आएको बताए । उनले, जेष्ठ प्राध्यापक मात्र नभएर आज आम नेपालीको औसत उमेर ७२ वर्ष पुगिसकेको उल्लेख गर्दै नेपालमा पनि अल्जाइमर्स, डिमेन्सियाजस्ता रोगबाट पीडितको संख्या दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
हिजोअस्ति मुटु, सुगरजस्ता रोग धनीलाई मात्रलाग्छ भनेजस्तै अल्जाइमर्स अमेरिका युरोपको रोग मानिन्थ्यो । अहिले नेपाललगायत अन्य देशमा पनि यी रोग बढेको उनको भनाइ थियो ।
समाजले सरोकारवाला दुवै मन्त्रीहरूलाई नेपालमा सामाजिक रुपान्तरण पनि समस्यामा आगोमा ध्यु थप्ने भएको बताएको छ । संयुक्तभन्दा सानो परिवार बन्ने प्रक्रिया आजका दिनमा बढ्दैछ । त्यसमाथि हुर्केका जति काम गर्न वा पढ्न विदेश जाने हुँदा बुढाबुढी घरमा एक्लै हुनेको संख्यामा बढोत्तरी हुँदै गएको छ । त्यस्ता बुढाबुढीलाई अल्जाइमर्सको जोखिम अझै बढी हुने डा. शर्माले तर्क गरे ।
समाजले दुवै मन्त्रीहरूलाई वृद्धावस्थाका रोग जन्य समस्या हेर्न केन्द्रमा एक बेग्लै सुविधा सम्पन्न अस्पताल अथवा भएका अस्पतालमा सुविधा थप्ने र प्रादेशिक अस्पतालमा समेत वृद्धावस्थाका लागि वार्ड राख्ने कुरामा ध्यानाकर्षण गराएको थियो । कार्यक्रममा प्रा. कमलकृष्ण जोशीलगायतले बोलेका थिए ।
प्रतिक्रिया