‘लापसे’मा कडाइ गर्दै ट्राफिक प्रहरी : सात जना चालक प्रहरी फन्दामा

‘लापसे’मा कडाइ गर्दै ट्राफिक प्रहरी : सात जना चालक प्रहरी फन्दामा


  • सुरेन्द्र सुवेदी

ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने चालकमाथि थप कडाइ गर्न थालेको छ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग२ख १६४७ नम्बरका बस चालक तनहुँको व्यास नगरपालिका ६ का ३९ वर्षीय रामबहादुर बोहोरा, बागमती प्रदेश०१ ००ख २५१० नम्बरका बस चालक उदयपुरको त्रियुगा नगरपालिका ८ का २८ वर्षीय भुवन खड्का, ना६ख ३०६६ नम्बरका बस चालक रौतहटको चन्द्रपुर नगरपालिका ५ का ३७ वर्षीय दिपेशकुमार सिंह पक्राउ परेका हुनु । यस्तै लु३च २४८३ नम्बरका पिक अप चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ३ का २० वर्षीय प्रदिप यादवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मधेस प्रदेश०३ ००१ख ९४७२ नम्बरका ट्रकका चालक बैतडीको पाटन नगरपालिका ८ का २९ वर्षीय जनकराज अवस्थी, ग२ख १२२९ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका ३२ का २४ वर्षीय मखुल हुसेन र बागमती प्रदेश०१ ००६ख ४५८५ नम्बरका ट्रक चालक गोरखाको गण्डकी गाउँपालिका ७ बस्ने २३ वर्षीय संजिव नेपालीलाई पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले घटना र विचारलाई बताए ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको प्रवक्ता एसएसपी श्रेष्ठको भनाइ छ । उनी यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गर्दछन् ।