त्रिशूली नदी किनारमा बगाएकालाई बचाउन संयुक्त अभ्यास

त्रिशूली नदी किनारमा बगाएकालाई बचाउन संयुक्त अभ्यास


  • विकास रौनियार, धादिङ

त्रिशूली नदी र यसको तटीय क्षेत्रमा बाढी पहिरो नियमित हुने गर्छ । त्रिशूली नदीले बगाएका र पहिरोबाट प्रभावितहरुलाई उद्धार गरि नागरिकलाई बचाउन नेपाली सेनाको शिवदल गण गजुरीको अगुवाइमा पुर्व अभ्यास गरिएको छ । धादिङको गजुरी गाऊँपालिका वडा नम्बर १ त्रिशूली नदी किनारमा मंगलबार (२९ जेठ) विपत् पूर्वतयारी र प्रतिकार्यका लागि विपतबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘अभ्यास मनसुन-४’ आयोजना गरिएको हो ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधिलगायत सरोकारवालाहरूको समन्वयमा बाढीपहिरोमा परेर निम्तिएको विपत्तिमा परेकाको उद्धार अभ्यास गरिएको थियो । विपत्तिबाट निम्तिन सक्ने थप सम्भावित विपत्ति हुनबाट जोगाउने अभ्याससमेत गरिएको थियो ।

पहिरोमा पुरिएर घाइते भएकाहरूको प्राथमिक उपचार र थप उपचारका लागि सकभर चाँडै स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने र नआत्तिइ सबैले सहकार्य गरे उद्धारलाई छिटो गरी थप विपत्ति रोक्न सकिने सन्देश अभ्यास कार्यक्रममार्फत दिइएको नेपाली सेनाको शिवदल गण गजुरीका सेनानी अपरेशन अधिकृत हेमप्रसाद शिवाकोटीले बताउनुभयो ।

यसअघि शिवदल गणले नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायतको ६० जनाको टोलीले अभ्यास मनसुन ४ तालिम लिएका थिए । नदीमा परेर बगाएका मानिसको उद्दार, प्राथमिक उपचार, र अस्पताल प्रेषण कार्य देखाईएको थियो । यसैगरी पहिरोमा हराएका मानिसको खोजी र डोरीको सहायताले पहिरो तलबाट पहिरोमाथि उकाल्ने किसिमको उद्धार अभ्यास गरिएको थियो ।

कार्यक्रममा श्री नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोज प्रताप जबरा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, लगायतका सुरक्षा निकायका प्रमुख र अधिकृतहरुको उपस्थिति रहेको थियो ।