संखुवासभा शारदा मावि प्रकरण : काम नै नगरी ४ लाख बढी हिनामिना

संखुवासभा शारदा मावि प्रकरण : काम नै नगरी ४ लाख बढी हिनामिना


संखुवासभाको धर्मदेवी नगरपालिका-४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी आपूर्ति र पुस्तकालय व्यवस्थापनमा आएको रकम काम नै नगरी हिनामिना भएको छ ।

कोशी प्रदेश आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित भएको रकम र पुस्तकालय व्यवस्थापनको लागि २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको शुरुवात नै नगरी ४ लाख ६० हजार ४ सय ५५ रुपैयाँको बिल भरपाई मिलाएर रकम हिनामिना भएको हो ।

अख्तियारका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशवकुमार शाक्यसँग मिलेमतो गर्दै रकम हिनामिना गरेका हुन् ।

उनीहरुसँगै विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल पनि भ्रष्टाचारको यो प्रकरणमा मुछिएका छन् । अख्तियारले उनीहरूलाई बिगोबराबरको रकम माग गर्दै विशेष अदालत बबरमहलमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।