अरुण नदीमा सञ्चालित फेरी बन्द

अरुण नदीमा सञ्चालित फेरी बन्द


पानीको बहाव बढेसँगै भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बन्द भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले आज (३१ जेठ)देखि फेरी सञ्चालन बन्द गरिएको हो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको थियो । षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ । फेरीले एकैपटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र गरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।

तस्बिर : रासस