काठमाडौं उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने

काठमाडौं उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने


काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबार (१ असार)देखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए ।

‘कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो’, पुडासैनीले भनेका छन् ।