नालामा पुरिएर तीन महिला मजदुरको मृत्यु : पीडितपक्ष असन्तुष्ट

नालामा पुरिएर तीन महिला मजदुरको मृत्यु : पीडितपक्ष असन्तुष्ट


  • आरपी उपाध्याय, नवलपरासी

पूर्वी नवलपरासीको कावासोतीमा कल्भर्ट बनाउन खनिएको खाल्डोमा पुरिएर तीन जना महिला कामदारको मृत्यु भएको छ। मृत्यु हुने कामदारहरुमा कावासोती नगरपालिका ५ लक्ष्मीपुर निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया मश्राङ्गी र ३२ वर्षीया चमेली सिंजालीको मृत्यु भएको हो ।

जेष्ठ ३१ गते कावासोती स्थित फलफुल चोक नजिक खाल्डोमा पुरिएर मृत्यु हुने परिवारजनका सदस्यहरुले कावासोती बजारका साथै पुर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । कामदार महिलाको निधनबाट उत्पन्न असहज अवस्था समाधान गर्न कावासोती नगरपालिकामा पीडित पक्ष र जनप्रतिनिधिहरुबीच दसबुँदे सहमति भएपनि पीडितपक्षले सहमति अमान्य भएको घोषणा गर्दै कावासोती नगर परिसरमा ढुङ्गा प्रहार गरे ।

पीडितहरुले कावासोती नगर प्रमुख बिष्णुप्रसाद भुसालको राजीनामा माग गर्दै एकतर्फी रुपमा तयार पारिएको सहमति अमान्य भएको भनी विरोध गरेका छन् ।

कावासोतीको फलफुलचोक र नगरपालिका क्षेत्र तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३९ राउन्ड अश्रुग्यास छोडेको डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । पीडितहरुले आफ्नो माग सम्बोधन नभए थप कठोर आन्दोलनको चेतावनीसमेत दिएको बुझिएको छ।