हर्मोन सेवनका कारण तेस्रोलिंगी विपिनको मृत्यु : ‘सेवन गर्न उक्साउनेमाथि भएन कारवाही’

हर्मोन सेवनका कारण तेस्रोलिंगी विपिनको मृत्यु : ‘सेवन गर्न उक्साउनेमाथि भएन कारवाही’


विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्युसँग लड्दैछु । म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’

सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन । बिहीबार उपचारकै क्रममा निधन भयो। विपिनले राम्री देखिन हर्मोन सेवन गर्थे । ‘दुई महिनाअघि मात्रै उनले अब म बाँच्दिन होला भनेका थिए’, उनका साथी तेस्रो लिङ्गी भन्छन्- ‘हर्मोन लिनुहुँदैन भनेर सल्लाह दिने कोही भएनन्, उक्साउने मात्रै भए ।’

उनले अहिले हर्मोन लिइरहेको र केही समयपछि लिङ्ग परिवर्तन गरेर केटी बन्नेसमेत बताएको उनका साथी तेस्रो लिङ्गीहरू बताउँछन् । ‘हर्मोन सेवन गर्दा थाइराइड भएर एक साथी गुमाउनुपर्‍यो’, तेस्रो लिङ्गीहरूले भने- ‘ज्यानै लिने हर्मोनकै प्रचार गर्नेहरूले किन नसोचेका होलान् ?’

विपिन तेस्रोलिङ्गी महिला थिए । गैरसरकारी संस्था ब्लु डायमन्ड सोसाइटी, एफएसजिएमएन, क्रुजएड्स नेपालले दातृनिकायको सहयोगमा गर्ने कार्यक्रममा विपिनलाई बोलाउने गर्थे । यी संस्थाले हर्मोन सेवन गर्न उक्साउने र ‘समस्या परे हामी छौँ नि’ भन्ने गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले बताएका छन्।

अस्पताल भर्ना भएको चार दिनमै निधन भएका विपिन जीविकोपार्जनका लागि सडकमा उभिन विवश थिए । उनलाई सही सल्लाह दिने कोही भएन । ‘लिङ्ग परिवर्तनका लागि उक्साउनेहरूका कारण उनी प्रेसरमा रहेछन्’, उनका तेस्रो लिङ्गी साथीहरूले भने- ‘शरीर भएका कपाल झार्ने औषधी समेत खाएको सुनाएका थिए।’

व्यक्तिलाई जे हो, त्यही पहिचानमा अधिकार दिलाउन लाग्नुको सट्टा हर्मोन थेरापी र लिङ्ग परिवर्तन गर्न उक्साइरहेका छन् ब्लु डायमन्डसहितका संस्था । हर्मोन थेरापीमा रहेका र यौन अङ्ग शल्यक्रिया गरेका दुई जनाको गत वर्ष पनि मृत्यु भएको छ । आत्महत्या गर्नेको यकिन तथ्याङ्क समेत छैन ।

ब्लु डायमन्ड सोसाइटीसहितका संस्था हर्मोन थेरापी र यौन अङ्ग प्रत्यारोपण गर्दा विभेद तथा लाञ्छना कम भएको प्रचारमा समेत लागेका छन् । लोकप्रियता पाउनका लागि गलत अभियान सञ्चालन गरेका संस्थाको नेतृत्वले व्यक्तिको ज्यानै जाँदा समेत गल्ती महसुस गरेका छैनन् ।

उनीहरू हर्मोन थेरापी र लिङ्ग परिवर्तनलाई वैधानिकता दिन लागेका छन् । ‘पहिला खाऊ भनेर उक्साउने, पछि त्यसैलाई समस्या भनेर डोनरबाट फन्ड ल्याउने गर्छन्’, समुदायका सदस्यले भने- ‘उनीहरूलाई कोही मरोस् कि बाँचोस् मतलब छैन ।’

दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह दर्ताका गरेका सुरेन्द्र पाण्डेले हर्मोन थेरापी, लिङ्ग परिवर्तन जस्ता कुरा गम्भीर विषय भएको बताएका छन् । पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा ‘यसका राम्रा नराम्रा पक्ष दुवै छन् । राम्रो कुरा मात्र गरेर हुन्न, गम्भीर साइड इफेक्टहरुको बारेमा पनि जिम्मेवार संस्थाहरूले खुलेर कुरा गर्नुपर्छ’ लेखेका छन्।