एक हजार आमालाई कानून सिकाउँदै मेट्रो कलेज

एक हजार आमालाई कानून सिकाउँदै मेट्रो कलेज


तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । उनले आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरु सिकाइने पनि बताए ।

‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’, कलेज प्रमुख आचार्यले बताए ।

कानूनी साक्षरता अन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिंसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धि विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले बताए । उनले महिलाका विभिन्न कानूनी समस्याका बारेमा पनि छलफल गरिने जनाए ।

तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरुका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरुलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरु पछाडि परिरहेका छन् ‘ उपप्रमुख स्यानी चौधरीले बताइन् । उनले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानूनका बारेमा जानकारी लिनुपर्ने बताइन् ।