करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर तीन जनाको मृत्यु


देशका विभिन्न स्थानमा करेण्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मंगलबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ ।