पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस-२०८१ का अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

रासस केन्द्रीय कार्यालय, भद्रकालीमा जारी उक्त प्रदर्शनी अवलोकनपछि शुभेच्छा व्यक्त गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले प्रदर्शनीमा राखिएका तस्बिरहरु गणतन्त्रपछिका विकास-निर्माणका कामको झलक प्रस्तुत गर्न सार्थक रहेको उल्लेख गर्दै यस प्रकारको रचनात्मक कामको निरन्तरता दिएकामा राससको प्रशंसा गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले तस्बिर प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराउनुभएको थियो । उहाँ रासस परिसर आउनुहुँदा अध्यक्ष झाका साथै महाप्रबन्धक सिद्धराज राईसहित विभागीय प्रमुखहरुले स्वागत गर्नुभएको थियो । गत जेठ १० गतेदेखि सुरु भएको रासस तस्बिर प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।

तस्बिर : रासस