गोही प्रजनन केन्द्रमा कोरलिए २ सय ३ बच्चा

गोही प्रजनन केन्द्रमा कोरलिए २ सय ३ बच्चा


चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन गोहीका बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट सङ्कलन गरिएका २ सय ४७ अण्डालाई प्रजनन केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए । आर्थिक वर्ष २०७९/८० मा दुई सय ५९ अण्डाबाट २ सय २२ बच्चा कोरलिएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ५ सय ६३ अण्डाबाट ४ सय ९६ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटामात्र बच्चा कोरलिएको थियो । अघिल्ला वर्षहरूमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ । प्रजनन केन्द्रमा ७ सय ७३ गोही रहेका छन् भने तीमध्ये २० र ४६ वर्षका दुई भाले छन् ।

यसै आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा २ सय ६५ वटा गोही देखिएका थिए । तीमध्ये ६ वटा भाले रहेको तिवारीले जानकारी दिए । नदी किनारमा जोखिममा रहेका गुँडहरूबाट सङ्कलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ । यस आवमा राप्ती नदीमा १ सय ५ वटा गोही छाडिएको छ । प्रकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुऱ्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । २०३५ सालमा स्थापना गरिएको प्रजनन केन्द्रबाट हालसम्म १ हजार ९ सय ५७ घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएका छन् ।

सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा १ हजार २ सय २, नारायणीमा ४ सय १९, बबईमा १ सय १०, सप्तकोशीमा १ सय १५, कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएको जानकारी दिएका छन् ।

file photo; rss