वर्षौंदेखि कुखुराको खोरमा थुनेर राखिएका निशान तामाङ

वर्षौंदेखि कुखुराको खोरमा थुनेर राखिएका निशान तामाङ


  • विकास रौनियार, धादिङ

नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हकको व्यवस्था छ, तर व्यवहारमा भने अपाङ्गता भएका धेरै नागरिकले पशुसरहको जीवन बाँचिरहेका छन् ।

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ पइन्टारका निशान तामाङ वर्षौंदेखि कुखुराको खोरमा थुनिन बाध्य छन् । अपाङ्गता भएका धेरै नागरिकलाई दैनिक जीवनयापन गर्न अहिले पनि कठिन छ । त्यसमा कतिपय त पशुसरहको जीवन बाच्न बाध्य छन् । यस्तै जीवन बाच्न बाध्य मध्येका एक हुन् निशान तामाङ ।

सात वर्षको उमेरदेखि नै निशानलाई उनको परिवारले कुखुरा, बाख्रा जस्तै खोरमा थुनेर राखिरहेको छ । हाल १२ वर्षका निशान खोरमा नारकीय जीवन बाँच्न विवश भएको पाँच वर्ष भयो । उनको उद्धार र उपचार गर्ने कोही छैनन् । निशानलाई जन्म दिने आमा अर्को व्यक्तिसंग विवाह गरेर गइन् । बाबुले पनि अर्को विवाह गरेपछि त निशानको कहालीलाग्दो दिन सुरु भयो । सौतेनी आमासँगै उनका बाबु घर छाडेर चितवन गए । खोरमा थुनिएका निशानको रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी हजुरआमाको काँधमा आइलाग्यो । हजुरआमाले जसो तसो रेखदेख गर्दै आइकी छन् । उनले बाहिरको पनि काम गर्नुपर्ने भएपछि निशानको रेखदेख र स्याहारसुसार गर्न नसकी खोर बनाएर राख्न थालिन् । खोरमा थुनिनु परेपछि उनको शरीर नै प्यारालाइसिस हुने अवस्थामा पुगेको छ ।

निशान बोल्न नसक्ने हुनाले आफ्नो मनको भावना व्यक्त गर्न सक्दैनन् । खुला छोड्दा बेसुरमा जथाभावी हिँड्ने र जे पायो त्यही खाने भएकाले खोरमा राखेको उनकीहजुर आमा बताउँछिन् । हेरचाह गर्ने मान्छे नभएकाले खोरमा थुनेर काममा जानुपर्ने बाध्यता परेको उनको भनाइ छ ।

खुला छोड्दा भीरतिर जाने, लड्ने र जे पायो त्यहि खानेभएपछि खोरमा थुनेर राख्न बाध्य भएको हजुरआमाले दुखका साथ सुनाइन् । बाबुआमाले छोडेर गएपछि हजुरआमाले स्याहारसुसार गर्न नसकेकै कारण यो अवस्थामा पुगेको भन्दै कुनै सङ्घसंस्थाले उद्धार गरिदिए निशानको अवस्था थोरै भएपनि राम्रो हुने उनका काका फुलमान तामाङको अपेक्षा छ । आफ्नो शारीरिक, मानसिक रोग, आमाबुबाको बेवास्ता मात्रै नभएर समाज र राज्यको पनि ध्यान नपुग्दा हाल निशानले यो अवस्था भोग्न बाध्य छन् ।

निशानलाई कुखुराको खोरमा राखिएको बारे स्थानीय सरकार गाउँपालिका पनि बेखबर छ । २०७६ साल भदौ १५ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पुन:स्थापना गर्न निर्देशन दिँदै सबै स्थानीय तहहरूलाई परिपत्र गरेको थियो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को दफ २९ मा पूर्णअपाङ्ग भएकालाई पुनस्र्थापना गरिने छ भन्ने उल्लेख छ। तर दूरदराजमा अझै पनि असक्त र अपाङ्गता भएका नागरिकले पशुसरह बाँचिरहनु परेको छ । यसले आम नागरिकको चेतनास्तर र अपाङ्गता भएकाहरूप्रति राज्यको चासो कति छ भन्ने प्रष्ट बनाएको छ।