हाकिमको आड पाएपछि असइले मच्चाए असुली-आतंक

हाकिमको आड पाएपछि असइले मच्चाए असुली-आतंक


  • धर्मेन्द्र प्रसाद यादव, वीरगञ्ज

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीका इन्स्पेक्टर जितेन्द्र साहको संरक्षणमा असई सुजय सिंहले अवैध रकम असुली कार्यमा आतंक नै मच्चाएका छन् । सीमा क्षेत्रमा हुने तस्करीलाई रोक्नुपर्नेमा खुलेआम रकम असुली गरी तस्करलाई संरक्षण दिइरहेको प्रमाण फेला परेको छ । असई सिंहले एक व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनिक भएको छ ।

त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर कठायत बिदा बसेको मौका छोपी काजमा खटिएका सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र साहको संरक्षणमा असई सिंहले खुलेआम तस्करी वापतको नजराना व्यापारीहरुसँग असुलीरहेका छन् । डिएस्पी बिदामा रहेका बेला सशस्त्र प्रहरी बल १३ नं. गुल्मबाट काजमा खटेका सशस्त्र प्रहरी उपरीक्षक एस्पीका विश्वासिलो पात्र मानिने साहको संरक्षणमा असईले असुलीको आतंक नै मच्चाएका हुन् ।

पीडित स्थानीयहरु भन्छन्, ‘असई सिंहले पैसा नदिइ कुनैपनि सामान नेपाल भित्र्याउन दिँदैनन्, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ भन्दै दुःख दिनेगरेका छन् । उनी कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।’

‘यहाँका इन्स्पेक्टर साहलाई उपल्लो हाकिमले नै तस्करीको लाइन खुलाउन पठाएको हो, ढुक्क भएर पैसा बुझाउनुस्’ जस्ता अभिव्यक्ति दिने गरेको उनीहरुको आरोप छ । ‘एसपी साबको विश्वासिलो पात्र इन्स्पेक्टर साब हुनुहुन्छ, उनको विश्वासिलो पात्र म छु’ भनेर अवैध रकम असुल्ने गरेको बताइएको छ । असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने गरेको बुझिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिक्टा भिस्वा, कठिया मठिया, सबैठवा लगायतका नाकाहरुबाट सिंहको इसारामा व्यापाक तस्करी बढेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक कठायत कार्यरत रहँदा पूर्ण रुपमा तस्करी बन्द भएको अवस्थामा उनी लामै बिदा गएपछि उनको अनुपस्थितिमा त्यहाँ काजमा गएका इन्स्पेक्टर साह र असई सिंहले असुली धन्धालाई यसरी तीव्रता दिएका छन् । इन्स्पेक्टर र असईले रकम बुझी तस्करीको लाइन खोलेपछि अहिले सो नाकाहरुबाट दिनदहाडै तस्करीका सामानहरु नेपाल भित्रिने गरेको छ । त्यति मात्रै होइन, असईको रवाफ पनि ठुलै छ । जोसुकै व्यक्तिलाई तस्करसरह नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको विश्वासिलो पात्र मानिने र खुफिया सूचना दिने व्यक्ति हुन् असई सिंह । डिआईजी ठाडा मगर तत्कालीन छिन्नमस्ता बाहिनी मधेश प्रदेश कार्यालय बर्दिबासमा कार्यरत रहँदा असई सिंह सर्लाही जिल्लामा लामै समयसम्म घुमुवा बसेका थिए । घुमुवा हुँदा तस्कर, व्यापारी, क्रसर व्यवसायी लगायत अवैध गतिविधि गर्नेहरुसँग सेटिङ्ग गर्ने उनको जिम्मा थियो । डिआईजीको नाममा रकम असुलीको आतंक मच्चाएपछि असई सिंह घुमुवाबाट तानिएका थिए ।

त्यसपश्चात पर्साको पोखरिया खटाइएका असई सिंह आउनेवित्तिकै तत्कालीन डिएस्पी भीम चौधरीसँग तँतँमम भनेर मुख लागेपछि डिएसपीले उनलाई कारवाही गरी फिर्ता पठाएका थिए । यति मात्रै होइन, उनको राजनीतिक दलका नेताहरुसँग पनि राम्रै हिमचिम रहेको बताइएको छ । असई सिंह जहाँ गएपनि विवादमा तानिएको उनको रेकर्ड नै छ । उनी पावर र पहुँचको आधारमा लामो समयदेखि पर्सा जिल्लामा कार्यरत रहँदै आएका छन् ।

अहिले पनि पर्सा जिल्लामा कार्यरत रहेपनि असई सिंहले डिआईजी ठाडामगरलाई सूचना दिने गरेको बताइएको छ । हाल बागमती प्रदेश गढीमाई बाहिनीमा कार्यरत रहेका डिआईजी ठाडामगरलाई असई सिंहले वीरगञ्जबाट जाने ट्रान्सपोर्टका सामानहरुको सूचना दिने गरेको बताइएको छ । जसले गर्दा रातोमाटोस्थित अवैध रुपमा संचालन गरिएको सशस्त्र प्रहरीको चेकप्वाइन्टले व्यापारीहरुलाई अनावश्यक दुःख दिने, सेटिङ मिलाउने जस्ता कामहरु गरिरहेको सुत्रको भनाइ छ ।

आफ्नो कमाण्डर प्रहरी उपरीक्षक (एसपी)लाई जानकारी नदिई असई सिंहले डिआईजी मगरको सुराकीको रुपमा काम गर्ने गरेका छन् । पहुँच र पावरको दम्भ देखाइ जहाँ गएपछि पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले स्थानीयवासी त्रसित छन् । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहरदोहर गर्दा लाठीले हिर्काउने, जोसँग पनि पैसा नै माग्ने असई सिंहको बानी छ । उनले तस्कर एवं व्यापारीसँग रकम असुल्दा जिल्लाको हाकिमको मात्र नभइ प्रदेशको हाकिमको पनि नाम लिने गरेका छन् । मधेश प्रदेशका डिआईजीलाई पनि लाखौं रकम बुझाउनुपर्छ भनेर ठूलै रकम असुल्ने गरेको बताइएको छ ।