पाँच वर्षदेखि एक्काइस घर विस्थापित : बगेको बग्यै छ सेतीमायाको आँशु !

पाँच वर्षदेखि एक्काइस घर विस्थापित : बगेको बग्यै छ सेतीमायाको आँशु !


  • विकास रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिकास्थित बाह्रबीसेबाट पाँच वर्षअघि पहिरोका कारण विस्थापित भएकाहरु अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् । नजिकै चामवासमा अस्थायी रुपमा शरण लिएर रहेका एक्काइस घर-परिवारको हरेक बर्खामा थप बिचल्ली हुँदै आएको छ ।

गहभरी आँशु खशाल्दै गरेकी यी वृद्धा हुन्, धादिङ गजुरी गाउँपालिका-२ चामवासकी सेतीमाया तामाङ । उमेरले सात दशक पार गरेकी सेतीमाया पहिरोका कारण आफ्नो थातथलो छाडेर विस्थापित भएको पाँच वर्ष पूरा हुँदा पनि स्थायी बासको ठेगान नभएपछि निकै दुःखी छन् । जीवनको उत्तरार्द्ध त्रिपालको भरमा कटाउनु पर्दा दुःख नलागोस् पनि किन ? त्यसमाथि एकल महिला, न छोरा न छोरी । एकातिर विस्थापित अर्कोतर्फ तेल-चामल खाएको उधारोको चिन्ता ! सेतीमायालाई सास्तीमाथि सास्ती थपिएको छ ।

चामबास पहिरोमा परेर सेतीमायालगायत एक्काइस घरपरिवार विस्थापित भए । सरकारले हरेक वर्ष पुनःस्थापना गर्ने आश्वासन दिएपनि वर्षदेखि के गर्मी के जाडो हावा हुरी र वर्षातको समेत यही त्रिपाल र जस्ताको छानोमा बसेर सामना गरिरहेका छन् । साना केटाकेटी त्रिपालभित्रैबाट आफ्नो भविष्य खोजिरहेका छन् । साथीहरू राम्रो र सुरक्षित घरमा बसेको देखेका उनीहरू त्रिपालको घरमा बस्नुपर्दा बालमष्तिष्कमा नकारात्मक असर नपर्ने सवाल नै रहेन ।

विस्थापितहरू पीडा बोकेर बाँचेका छन् तर सरकारले स्थानान्तरणमा चासो दिएको छैन । सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि हारगुहार गर्दै यहाँका विस्थापितले वडा, गाउँपालिकादेखि जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा पटक–पटक ज्ञापनपत्र बुझाइसकेका छन् । सरकार फेरिएपिच्छे चर्चाका लागि विस्थापितहरूलाई आश्वासन दिइए पनि उनीहरुको दैनिकी घामपानी, हावाहुरीसँग पौंठेजोरी खेलेरै बितिरहेको छ ।

वनमा लागेको आगो पो देखिन्छ मनमा लागेको आगो नदेखिने रहेछ भन्ने अवस्थामा पहिरोबाट विस्थापित भएकाहरूको दुखेसो छ । उनीहरूमध्ये कतिपय त पुरानै ठाउँमा जोखिम मोलेरै बस्न थालेका छन् । यहाँ प्रदेशका मुख्यमन्त्रीदेखि गृहमन्त्रीसम्म आश्वसन दिन आइपुगे पनि अहिलेसम्म कसैले विस्थापितको समस्या समाधानमा ठोस काम भने गरेर देखाएनन् ।

विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका-२, बाह्रबीसे गाउँ नै पहिरोमा परेको थियो । जमिन चिरा पर्दा घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरोपीडितहरू बाह्रबीसेमा बस्दै आएका थिए ।

पाँच वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न नसक्दा उनीहरुमा निराशा बढेको छ । सरकारले अहिलेसम्म पीडितका लागि स्थायी आवास निर्माणको कुनै योजनासम्म बनाउन सकेको छैन । यसतर्फ अब यथाशीघ्र ध्यान पुगोस् ।