नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त, नेपालका लागि युएईका राजदूत अबदुल्लाह अल सम्सी र नूर दुबई फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा. मनाल तारियामले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा सचिव डा पोखरेलले भन्नुभयो, ‘गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । यस लक्ष्यलाई परियोजनाले थप सहयोग गर्ने छ । दिगो विकासका लक्ष्य २०३० प्राप्तिमा आँखा स्वास्थ्य सेवाको भूमिका अग्रणी छ ।’
फाउण्डेशनका बोर्ड सदस्य एवं प्रमुख कार्यकारी अधिकृत डा तारियामले भन्नुभयो, ‘फाउण्डेशनले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारी मार्फत नेपालमा आँखा उपचार सेवा गर्न समुदायमा पुग्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नुका साथै सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौँ ।’
सङ्घका अध्यक्ष प्राडा पन्तले भन्नुभयो, ‘परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ । टेलिअफ्थाल्मोलोजी उपचार सेवाले बिरामीको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढी प्रभावकारी हुने विश्वास लिएका छौ ।’ कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले आँखा उपचार सेवामा सङ्घले गरिरहेका काम एवं परियोजनाबारे जानकारी दिनुभएको थियो ।
तस्बिर : रासस
प्रतिक्रिया