सिमलताल पहिरो : बेपत्ताको खोजी ‘तीव्र रूपमा’

सिमलताल पहिरो : बेपत्ताको खोजी ‘तीव्र रूपमा’


नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रूपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको हो ।

सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार बङ्गलादेशबाट तालिम प्राप्त १० जना गोताखोर परिचालन गरिएको छ । गोताखोरसँगै एक सय जनाको शिक्षालयका सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थ पौडेलले एन्कर (फलामे हुक), वाटर ड्रोन (सोनार), पाइप इन्स्पेक्सन स्वेर क्यामरालगायत आधुनिक उपकरणको प्रयोग गरी खोजी कार्य भइरहेको जानकारी दिए ।

‘नदीको धमिलो र बगिरहेको पानीमा गोताखोरले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका छन्’, उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमा समुन्द्रको सफा पानीका लागि तयार पारिएका उपकरण धमिलो पानीमा प्रभावकारी नहुने भएकाले सोहीअनुसारका उपकरण प्रयोग गरिएको छ ।’

यसअघि त्रिशूलीमा खसेको गाडी खोजतलासका लागि बङ्गलादेशबाट गोताखोर आएको भएपनि बगेको धमिलो पानीमा काम गर्न सहज नभएको भन्दै वरिष्ठ उपरीक्षक पौडेलले अहिले जुन जनशक्ति र प्रविधि प्रयोग भएको छ यत्तिको प्रविधि अन्यत्र नभएको दाबी गरे ।

सो घटनामा परेकामध्ये हालसम्म तीन वटा शव फेला परेका छन् । असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ नारायगढ-मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।

photo: rss