अवरुद्ध रहँदैआएको बेनी-दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुऱ्याउन समस्या भएको थियो । पहिरोले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी-दरवाङ सडक खुलेको छ । तथापि सडकखण्डमा जोखिम टरिनसकेकोले वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल अनुरोध गरेका छन् ।
सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।
यसैबीच फापरखेतअन्तर्गतको बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ । सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको जानकारी दिएका हुन् ।
पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।
photo: rss
प्रतिक्रिया