काठमाडौंमै भेटियो पोलियो भाइरस : पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउन माग

काठमाडौंमै भेटियो पोलियो भाइरस : पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउन माग


राजधानीमै पोलियो भाइरस भेटिएपछि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । यो विशेष पोलियो खोप अभियान हो । अभियान यही साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ ।

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन-ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन-आइपीभी) दिइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९ सय ६६ घर छन् । यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।

विभागको तथ्याङ्कमा वडागत रुपमा हेर्दा सबैभन्दा धेरै वडा ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा १ मा ४ सय ६२ जना छन् । यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर घरमा ग्एर पोलियो थोपा खुवाउनेछ ।

प्रयोगशाला परीक्षणको नतिजाअनुसार सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको छ । वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ । नेपालमा पोलियो उन्मुलन रणनीति २०२२-२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो ।