सर्वश्रेष्ठ दान रक्तदान !

सर्वश्रेष्ठ दान रक्तदान !


संसारमा मानव जातिले समाज निर्माण गरेपछि स्व-रक्षा साथै समाज रक्षाका लागि गर्दै आएका विभिन्न कार्यहरु मध्ये सर्वोत्कृष्ट पुण्य कार्य हो- ‘रक्तदान’ । किनभने, मानिसले धार्मिक तथा सांस्कृतिक रुपमा पुण्य प्राप्तिका लागि जति पनि दान-धर्महरु गर्दै आए, तीमध्ये रक्तदान नितान्त मौलिक तथा आफ्नै शरीरभित्र निस्रित रक्ततत्व झिकेर दिइने दान हो ।

वैज्ञानिक आविस्कारहरुमार्फत् मानव जातिले शरीरका अंगहरुको कृत्रिम निर्माण गरिसकेको अवस्था छ । तर, रक्त तत्व अहिलेसम्म कृत्रिम रुपमा बन्न वा बनाउन सकिएको छैन । रक्त अभावबाट मानिसलाई बचाउन मानिसकै रक्त तत्व नभइहुन्न । यसको कुनै विकल्प विज्ञानको माध्यमबाट बनिसकेको छैन ।

त्यसैले विज्ञान-प्रविधिद्वारा आविस्कारको उन्नत यस एक्काइसौँ शताब्दीमा पनि मानव जातिलाई बचाउन मानव जातिकै रक्त-तत्व आदान-प्रदानका माध्यमबाट आपसमा भाइचारा, बन्धुत्व, प्रेम, सद्भाव जस्ता जस्तोसुकै आत्मीय शब्दका लागि पनि अनुकूल रहेको पवित्र कार्य हो- ‘रक्तदान’ ।

यस्तो पवित्र कार्यका लागि हाम्रो देशमा हज्जारौँ अभियन्ताहरु समर्पित छन् । जसले कुनै पनि नेपालीको मृत्यु रक्त अभावका कारण हुन दिएको छैन । यस्तो सुन्दै भावनात्मक शुद्धता प्रदान गर्ने कार्यमा समर्पित हुन पाउनु हाम्रो लागि अहोभाग्य हो । सोही अनुरुप हामी आफ्ना अमूल्य समय रक्तदान दिनेहरुका लागि उपयुक्त वातावरण प्रदान गर्न र आवश्यकतामा परेकाहरुका लागि उपलब्धताको वातावरण तयार गर्ने कार्यमा समर्पित छौँ । यस्तो पुण्य साथै श्रृष्टीकै सर्वश्रेष्ठ मानवीय सेवा कार्यका लागि हामी एकआपसमा सहयोगी भावना राखेर व्यवहार गर्न अग्रसर रहौँ ।