- आरपी उपाध्याय, नवलपरासी
इन्डो-नेपाल बोर्डर पत्रकार संघको बिस्तारित बैठक भारत बिहार पश्चिमी चम्पारणको बगहामा सम्पन्न भएको छ।
नेपाल भारत सिमाक्षेत्रमा रहेका पत्रकारहरुको आपसी हकहित संरक्षण गर्ने उद्देश्यका साथ स्थापना भएको संघले दुवै देशको सिमाक्षेत्रमा हुने अवैध गतिविधिलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बिस्तारित बैठकमा विभिन्न आधा दर्जन एजेन्डाहरु प्रस्तुत भएको सचिव नत्थु शर्माले जानकारी दिनुभयो।
इन्डो-नेपाल बोर्डर पत्रकार संघका संरक्षक सदस्य एवं नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सदस्य आरपी उपाध्यायको अध्यक्षतामा गत शुक्रबार (११ साउन) कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा पश्चिमी चम्पारण बगहा प्रखण्डका विकास अधिकारी बिट्टु कुमार रामले सिमाक्षेत्रमा स्थापना भएको बार्डर पत्रकार संघले विकास निर्माण कार्यलाई प्रोत्साहन गर्नुका साथै सिमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोकथाम गर्न कदम चलाउनुपर्नेमा जोड दिँदै हाम्रो आपसी प्रयासबाट शिखरमा चढ्ने अभ्यास गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रामले बगहास्थित गुरुकुलम कोचिङ सेन्टरको परिसरमा विभिन्न जातका एक दर्जन बिरुवा रोप्नुभइ, बिरुवा लगाउनुभन्दा संरक्षण गर्नु ठूलो कुरा रहेकोले रोपिएका बिरुवा बचाउने अभियानमा हामी सबै लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
सो अवसरमा विशेष अतिथि समेत रहनु भएका नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश बिकले पत्रकारिताको धर्म र मर्यादालाई पालन गरि गरिने पत्रकारिताले दुवै देशका पत्रकारहरुको शिर ठाडो हुने विचार व्यक्त गर्दै रोटी र बेटीको सम्बन्ध रहेको दुई देशका नागरिकका सम्बन्धलाई अझ बलियो बनाउने कार्यमा पत्रकार जगत कृयाशिल रहनुपर्ने विचार व्यक्त गर्नुभयो।
बैठकमा आगामी दिनहरुमा बोर्डर पत्रकार संघले स्वास्थ्य शिविर सञ्चालन, अर्धवार्षिक मुख पत्र तयार पार्ने संघका सदस्यहरुलाई परिचयपत्र प्रदान गरिनुका साथै पत्रकारहरुको बीचमा अन्तरक्रियात्मक कार्यक्रम गर्दै जाने तथा पत्रकार आचारसंहिता लागू गर्ने लगायत निर्णय भएको जानकारीमा आएको छ।
कार्यक्रममा अध्यक्ष कौशल कुमार, उमाकान्त गिरी, माधवेन्द्र पाण्डे, जय प्रकाश, अर्जुन जैसवाल लगायत डेढ दर्जन पत्रकारहरुले दुई देश बिचका पत्रकारिता क्षेत्रको गतिविधिबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा बगहा निवासी निपु कुमार पाठकले विभिन्न जातका दुई दर्जन विरुवाहरु उपलब्ध गराउनु भएको पत्रकार हरिद्वार कुमारले जानकारी दिनुभएको छ।
प्रतिक्रिया