प्रधानसेनापति शर्माद्वारा भवनको शिलान्यास र उद्घाटन

प्रधानसेनापति शर्माद्वारा भवनको शिलान्यास र उद्घाटन


संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाका सकलदर्जालाई प्रि-डिप्लोइमेण्ट तालिम दिने उद्देश्यले काभ्रेको पाँचखालमा स्थापना भएको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रका रूपमा विकास गर्दै लैजाने योजनाअनुरूप विभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य भइरहेका छन् ।

यो केन्द्रमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार शिलान्यास गरे । प्रधानसेनापति शर्माले निर्माण सम्पन्न भएका अधिकृत मेस, पदिक मेस, जवान बासस्थान, जवान डाइनिङ्ग हल र बहुउपयोगी स्टोर भवनको उद्घाटन गरेका छन् । सो अवसरमा प्रधानसेनापतिले उक्त केन्द्रमा सञ्चालित तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिँदै सम्बोधनसमेत गरे ।

२०४३ सालमा शान्ति सैनिकको रूपमा खटिने नेपाली शान्ति सैनिकलाई तालिम प्रदान गर्न पाँचखाल तालिम शिविरको रूपमा स्थापना भएको उक्त तालिम केन्द्र २०५८ मा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको रूपमा नामकरण भएको हो । यो तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ विभिन्न संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्न संयुक्त राष्ट्र सङ्घमा आबद्ध देशका सैनिकबीच संयुक्त तालिम तथा अभ्यासहरू सञ्चालन हुँदै आएका छन् ।