वैद्य-प्रकाश मानवअधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका-६ तेरहौताका ५५ वर्षीय मानवअधिकार रक्षक दिलीपकुमार चौधरी सम्मानित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३२औँ स्मृति दिवसका अवसरमा सप्तरीको राजविराजमा आयोजित नवौँ वैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८१ बाट चौधरीलाई सम्मान गरिएको हो । चौधरीलाई उच्च अदालत जनकपुर राजविराज इजलाशका प्रमुख न्यायाधीश वामदेव ज्ञवालीले नगद तथा सम्मानपत्रसहित सम्मान गरे ।
यस्तै, उर्मिलादेवी झा पाँचौँ मैथिली गीत गायन पुरस्कारबाट लोकगायिका सुनिता साह सम्मानित भएकी छन् । मैथिली गीत गायनमा १८ वर्षदेखि सङ्लग्न राजविराजकी साहलाई सोही कार्यक्रममा सम्मान गरिएको थियो ।
पुरस्कार कोषका संस्थापक अध्यक्ष वैद्यनाथ झाको अध्यक्षता तथा सचिव मनोहरकुमार पोखरेलद्वारा सञ्चालित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवान, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, मैथिली महिला परिषद् सप्तरीकी अध्यक्ष मालती चौधरी, ज्येष्ठ नागरिक सङ्घ सप्तरीका अध्यक्ष रामनरेश सिंहलगायतकाले मन्तव्य व्यक्त गरे ।
नुवाकोटको घोप्टेभीरमा २०४९ साउन १६ गते थाई विमान दुर्घटनामा प्रकाश काफ्लेको निधन भएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१औँ प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित वैद्यनाथ झाले प्राप्त गर्नुभएको रु ५० हजार पुरस्कार राशिबाट स्थापना गरिएको वैद्य-प्रकाश मानवअधिकार पुरस्कार २०७३ सालदेखि प्रत्येक प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया