राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि राम्रो सुधार भएको देखिँदैन ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले सामुदायिक विद्यालयअन्तर्गत माध्यामिक तहमा २५ हजार र आधारभूत तहमा ५० हजार शिक्षक अपुग रहेको बताउनुभएको छ । आधारभूत तहमै राम्रोसँग शिक्षण सिकाइ हुन नसकेको र त्यसैको असर एसईई र कक्षा १२ मा देखिएको उहाँको भनाइ छ ।
‘राज्यले पर्याप्त मात्रामा शिक्षक दिनुपऱ्यो । विद्यालयमा शिक्षण सिकाइको वातावरण हुनुपऱ्यो । अहिले देशमा दुई खालको डिवेट छ, दुर्भाग्यपूर्ण भन्छु म यसलाई । एउटा डिवेट के भने, ऐन कानुनको डण्डा लगाएर शिक्षकलाई निचोर्या भने बल्ल उसले काम गर्छ र नतिजा सुध्रिन्छ भन्ने अभिमत छ । अर्को शिक्षकलाई उत्साहित गऱ्यो, अभिप्रेरित गऱ्यो, भने नतीजा सुध्रिन्छ । हामी दोस्रो भनाइको पक्षमा छौं’– उहाँको भनाइ छ ।
साथै, उहाँले शिक्षकको सेवा, शर्त र सुविधा राम्रो भएमा मात्रै सबैभन्दा राम्रो जनशक्ति शिक्षण पेशामा आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा राम्रो जनशक्ति शिक्षण पेसामा आएमा शिक्षाको गुणस्तरमा सुधार आउने छ ।’
प्रतिक्रिया