भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो


वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ । गत वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आइतबार जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।

हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ ।

बाह्र वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए पनि अन्य वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चार जना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जानकारी दिए ।

जावलाखेलमा भोटो देखाएपछि यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ । रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाकै लामो जात्रा हो ।

photo: rss