अविरल वर्षाको कारण काभ्रोपलान्चोकको खहरे खोलाको लेदोले आज (२२ साउन) बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका-११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ ।
वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ । यस्तै वर्षाका कारण आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार माथिबाट आएको पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले एकतर्फी खुलाएको छ भने दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ । उक्त राजमार्गको अन्य स्थानमा स–साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ ।
यसैबीच धुलिखेल नगरपालिका-५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर आज एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका-३ घर भई पनौती नपा-५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासलाई श्रीखण्डपुरस्थित खोलाले बगाउँदा करिब तीन सय मिटर तल बिहान मृत अवस्थामा फेला पारिएको हो ।
बागलुङ पहिरो : तीनजना बेपत्ता
बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीनजना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिएका छन् ।
घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताए ।
प्रतिक्रिया