ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) द्वारा स्वयम्सेवी रक्तदानसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरिएको छ ।
यही साउन १८ गते शुक्रबार काठमाडौंको लैनचौरस्थित शान्ति विद्यागृह मा.वि.मा आयोजित कार्यक्रममा ब्लोदान अध्यक्ष इ. सानुबाबु प्रजापति, कार्यक्रमका प्रमुख अतिथि वर्षाराम भण्डारी (मा.वि. व्यवस्थापन समितिका अध्यक्ष), प्रधानाध्यापक शिवकुमारी बराल, ब्लड डोनर्स एशोसियसनका संस्थापक एवम् सल्लाहकार सूर्यकुमारी श्रेष्ठले रक्तदान के, किन, कसलाई र यसको खास महत्व के भन्नेबारे उपस्थित छात्रछात्रासमक्ष विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा स्व. श्रीमती दिलकुमारी श्रेष्ठ (मेचीआमा)लाई उदाहरणीय समाजसेवीका रूपमा प्रस्तुत गरिएको थियो । स्व. मेचीआमाले ब्लोदानको संस्थापकको जिम्मेवारी निर्वाह गर्नुभएको मात्र नभइ दिल खोलेर आर्थिक सहयोग पनि उपलब्ध गराउनुभएको थियो ।
वि.सं. १९७० मा भोजपुरको दावाँ गाउँमा जन्मनुभएकी श्रीमती दिलकुमारी श्रेष्ठ ‘मेचीआमा’ले झापा जिल्लालाई कर्मक्षेत्र बनाइ समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्नुभएकोले राष्ट्रिय स्तरमै ‘मेचीआमा’ नामले प्रसिद्धि पाउनुभएको थियो ।
देश-विदेश भ्रमण गर्नुभएकी श्रेष्ठले झापामा नेपाल रेडक्रस, अर्वुद रोग (क्यान्सर) सम्बन्धी संस्था, अन्ध अपाङ्ग संघ, परिवार नियोजन संघ, आमा मिलन केन्द्र, प्रौढ शिक्षा स्थापना तथा सञ्चालनमा मेची अञ्चलमै प्रभावकारी भूमिका खेल्नुभएको थियो । रक्तदानसम्बन्धी सो सचेतनामूलक कार्यक्रममा संस्थापकमात्र नभइ आर्थिक सहयोगसमेत प्रदान गर्नुभएकीले मेचीआमा श्रीमती दिलकुमारी श्रेष्ठलाई उदाहरणीय समाजसेवीका रूपमा प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया