उपरथी कार्कीसहितलाई दर्ज्यानी चिह्न

उपरथी कार्कीसहितलाई दर्ज्यानी चिह्न


कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका मधुकरसिंह कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

कायम मुकायम प्रधानसेनापति सिग्देलले जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदोन्नतिसँगै उपरथी कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह-संयोजकमा नियुक्त गरिएको छ । सोही अवसरमा सहायक रथीमा बढुवा हुनुभएका प्राविधिक डेन्टिष्ट डा समीर अर्याल, जगदीश खड्का र अमृतकाजी गुरुङलाई पनि दर्ज्यानी चिह्न प्रदान गरियो ।

त्यस्तै महासेनानीमा पदोन्नति हुनुभएका शैलेन्द्र कोइरालालाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न लगाइयो ।

सिरियल नम्बर ६१ को अधिकृत आधार तालिममा छनोट भई भारतबाट अधिकृत आधारभूत तालिम पूरा गर्ने चार जना अधिकृत क्याडेटलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको निर्देशनालयले जनाएको छ ।