शहीद परिवारको शिक्षा/स्वास्थ्यका लागि कांग्रेसले १० करोडको अक्षय कोष स्थापना गर्ने

शहीद परिवारको शिक्षा/स्वास्थ्यका लागि कांग्रेसले १० करोडको अक्षय कोष स्थापना गर्ने


शहीद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा, स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ राशीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्यामबहादुर कार्कीको १७औं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले सो जानकारी दिएका हुन् ।

प्रजातन्त्रका सेनानी र शहीदका परिवारले आफ्नो योगदानको प्रतिफल पाउन नसकेको बताउँदै महामन्त्री थापाले उनीहरुलाई स्वास्थ्य र शिक्षाको अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको बताए ।

हाल पार्टीमा आवद्ध रहेकाहरुलाई पनि भविष्यमा आफ्नो परिवारको अवस्था के होला भन्ने तनावबाट मुक्त रहनका लागि पनि उक्त अक्षयकोषले मद्धत पुर्‍याउने महामन्त्री थापाको भनाइ थियो । कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी कार्यालयमा स्थापना गरिएको पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका योद्वा, प्रजातान्त्र सेनानी लगायतका सामाग्री समेत राखिने जानकारी दिए ।

हाल धेरैजस्तो युवाहरुमा विदेश जाने ट्रेन्ड बढिरहेको बताउँदै महामन्त्री थापाले युवा विदेशिनुलाई नराम्रो नै हो भन्न नमिल्ने बताए । रोजगारी र शिक्षाका लागि त विकशित देशका मानिस पनि अन्य देशमा जाने गरेको उदाहरण प्रस्तुत गर्दै उनले त्यसैलाई नै नराम्रो भन्न नमिल्ने तर्क गरे ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुरको राजनीतिक, सामाजिक बिकासमा स्व. श्यामबहादुरको अतुलनीय योगदान रहेको बताए भने बागमति प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, स्व. श्यामबहादुरका समकालीन एवं कांग्रेस नेता रामप्रसाद दवाडी, प्रतिष्ठानका अध्यक्ष एवं स्व. श्यामबहादुरका जेष्ठ पुत्र बिष्णुराज कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्कीको १७औँ स्मृति दिवसकै अवसरमा स्थानीय गणेश आधारभुत विद्यालयका १०८ जना विद्यार्थीलाई स्टेशनरी समान, व्याग लगायतका सामान वितरण गरिएको थियो भने अवसर पारेर नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पूर्व सभापति महेश श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँडेल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, महिला संघकी जिल्ला सभापति सरू वानियाँ, नेता कविर राणा लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।