गोरखा र बागलुङका बाढी/पहिरोपीडितलाई लायन्स क्लबबाट राहत

गोरखा र बागलुङका बाढी/पहिरोपीडितलाई लायन्स क्लबबाट राहत


लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरोपीडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसनालगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो ।

उक्त टोलीमा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापति बाँस्तोला, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, मोडर्न भिलेज चिफ लायन चन्दनबाबु खत्री, रिपोर्टिङ चिफ लायन यमबहादुर बसेल, जोन चियरपर्सन लायन सबिन खत्री, लायन्स क्लब अफ गोर्खा आरुघाटका पदाधिकारीलगायतका अन्य लायन्स लिडरको उपस्थिति थियो ।

मृतक ५ जनाको परिवारलाई आरुघाटमा राहत सामाग्री प्रदान गरिएको थियो । पीडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्य पीडित परिवारका लागि आवश्यक राहत आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीलाई बुझाइएको थियो ।

आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनले सबै राहत सामाग्रीहरु संकलन गरी पीडितलाई दिने कार्य गरिरहेको छ । त्यसैगरी बागलुङको बडिगाडका पहिरोबाट पिडीत परिवारलाई पनि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले सहयोग गरेको छ । डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले बडिगाड गाउँपालिका वडा ९ को नयाँ बस्ती र वडा नं. १० को आरुपाता, पात्ले क्लाबझिङ, खोर सल्लेनधारालगायतका बस्तीमा सहयोग गरेको हो ।

उनीहरुले ३८ परिवारका लागि आवश्यक खाद्यान्न, सिरक डसनालगायतका लत्ताकपडा र नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ बागलुङ, लायन्स क्लब अफ बागलुङ गौरीधामसँग समन्वय गरी त्रिपाल र स्यानिटरी सामाग्रीहरु बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।

बागलुङ पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने १ जनाको अवस्था अझै पनि अज्ञात छ । डिष्ट्रिक्ट ३२५ जे नेपालको टोलीमा पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन ध्रुबबहादुर थापा, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिलनबाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, क्लब एक्स्टेन्सन चिफ लायन नरेश कँडेल, धौलागिरी क्षेत्रका रिजन, जोन चियरपर्सन, क्लब प्रेसिडेन्टलगायतका लायन्स सदस्यहरुको सहभागिता थियो ।