बिओपीको नवनिर्मित भवन उद्घाटन

बिओपीको नवनिर्मित भवन उद्घाटन


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीमा रहेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गणअन्तर्गत बिओपी गुठीप्रसौनीको नव निर्मित भवन एक कार्यक्रमका बीच मङ्गलबार उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक अभिकुमार खत्रीले नवनिर्मित भवनको उद्घाटन गर्दै शान्ति,सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारीलाई पालन गर्दै राज्यले दिएको निर्देशनलाई अक्षरशस् पालन गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति स.प्र.ना.म.नि. खत्रीले सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न कडाइका साथ निगरानी बढाउनु पर्ने तथा सिमा सुरक्षा र नागरिकको जिउधनको रक्षा गर्ने कार्यमा दिनरात क्रियाशिल रहन पनि निर्देशन दिनुभयो।

नवनिर्मित भवन उद्घाटन समारोहमा २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले स्वागत तथा भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्दै २०७७ जेठ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ भइ थप म्याद सहित ०७७ मङ्सिर ७ गते भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

ओम सत्य साइ कन्ट्रक्सन प्रा.लि. भरतपुर चितवनले प्राप्त गरेको ठेक्कामा विनियोजित रकम ८७ लाख १ हजार ३ सय ७७ रुपैयाँमा नयाँ भवन निर्माण भएको पनि गणपति वाग्लेले जानकारी दिनुभयो ।

भवन उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नुभएको थियो। भवन उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि,सामाजिक व्यक्तित्व र सशस्त्र प्रहरी बल २६ न. गण अन्तर्गतका युनिट प्रमुखहरुको पनि उपस्थिति रहेको बताइएको छ।