पहिरोले पृथ्वी राजमार्ग र लेदोका कारण नारायणगढ-बुटवल सडक अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग र लेदोका कारण नारायणगढ-बुटवल सडक अवरुद्ध


पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने दुई ठाउँमा आज (३० साउन) बिहान पहिरो गएका कारण सडक अवरूद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका(३ चुम्लिङटार र मौवाखोलामा बुधबार बिहानै पहिरो खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरूद्ध भएको र बाटो खुलाउने प्रक्रिया सुरु भएको जनाइएको छ ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक पनि अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गएरातिको वर्षापछि अवरुद्ध भएको हो । सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए ।