३ करोड ८७ लाख मूल्यको ११०४ ग्राम कोकिन बरामद

३ करोड ८७ लाख मूल्यको ११०४ ग्राम कोकिन बरामद


नेपाललाई ट्रान्जिट बनाएर ल्याएको १ किलो १ सय ४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । अवैध लागूऔषध कोकिन १ किलो १ सय ४ ग्राम सहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजानियन नागरिक ५८ वर्षीय JUMA ABDULLA MZEE र भारतीय नागरिक K ZUCHOBENI TSOPOE रहेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरस्थित एक होटलमा बसेका JUMA ABDULLA MZEE को कोठा तलासी गर्दा झोलाभित्र लुकाई राखेको ८० वटा क्याप्सुलमा रहेको उक्त परिमाणको कोकिनसहित उनलाई पक्राउ गरेको हो । साथै उक्त कोकिनका क्यापसुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक K ZUCHOBENI TSOPOE लाई समेत प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा K ZUCHOBENI TSOPOE ले उक्त कोकिन भारततर्फ लैजान लागेको समेत खुल्न आएको छ । बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ ।