ताप्लेजुङमा पहिराले दुई घर बगायो

ताप्लेजुङमा पहिराले दुई घर बगायो


गएराति गएको पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिएका छन् ।

पुलनजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए ।

होटेल सञ्चालक शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ ।

‘साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ’, वडाध्यक्ष शेर्पाले भनेका छन् ।

पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।

photo: rss