बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क

बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क


तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ ।

दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निःशुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।

अन्यको हकमा भने दाहसंस्कार शुल्क रु. चार हजार पाँच सय निर्धारण गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिएका छन् । उनका अनुसार देवघाटमा मासिक करिब १७ वटा बेवारिसे शवको दाहसंस्कार हुने गरेको छ ।

तनहुँ, चितवन र नवलपुरबाट विपन्न व्यक्तिको दाहसंस्कार निःशुल्क गरिदिन सिफारिस आउने गरेको उल्लेख गर्दै बरालले भने- ‘भरतपुर अस्पतालबाट बेवारिसे शव दाहसंस्कारका लागि यहाँ ल्याउने गरिएको छ । त्यस्ता शव दाहसंस्कारको सम्पूर्ण व्यवस्थापन समितिले गरिरहेको छ । यस्तै तीनवटै जिल्लाबाट विपन्नका लागि निःशुल्क दाहसंस्कार गर्न सिफारिससमेत आउने गरेका छन् ।’

देवघाटमा दैनिक सरदर सात वटा शवको दाहसंस्कार हुँदै आएको छ । समितिले दाहसंस्कारका लागि वनसँग दाउरा खरिद गर्ने गरेको छ ।

यसैगरी समितिले देवघाट आश्रमका ज्येष्ठ नागरिकको मासिक रूपमा स्वास्थ्य परीक्षण गराउन थालेको छ । समितिद्वारा सञ्चालित आश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या नआओस् भनेर मासिक रूपमा परीक्षणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक बरालले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको समितिका लागि चालु आर्थिक वर्षमा रु ८७ लाख बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ रु ५० लाख र चालुतर्फ रु ३७ लाख बजेट छ । समितिले पार्किङ, डुङ्गा सञ्चालन र व्यापारिक सटरबाट आन्तरिक आम्दानी गर्दै आएको छ ।