पत्रकारमाथि दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षलाई कारवाहीको माग गर्दै धर्ना

पत्रकारमाथि दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षलाई कारवाहीको माग गर्दै धर्ना


समाचार संकलनको क्रममा पत्रकारमाथि दुर्व्यवहार गरिएको घटनाको विरोध गर्दै सप्तरीको राजगढ गाउँपालिकाका स्थानीयले बुधबार (३० साउन) गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयवासी गाउँपालिकको कार्यालयअगाडि धर्ना बसेका हुन् ।

यही साउन २२ गते समाचार संकलनका लागि गाउँपालिका पुगेका पत्रकारहरुलाई राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका व्यक्तिले कोठामा बन्धक बनाएर दुर्व्यवहार गरेका थिए ।

सोही घटनाको विरोधका साथ घटनामा संलग्न अध्यक्ष मण्डलसहितका व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्न दबाबस्वरुप धर्ना बसेको स्थानीय रामाकान्त यादवले बताए ।

साउन २२ गते राजगढ गाउँपालिका परिसरमा अध्यक्ष ओमप्रकाश मण्डललाई ज्ञापनपत्र बुझाउने क्रममा समाचार संकलनार्थ पुगेका संचारकर्मीहरुलाई अध्यक्ष मण्डललगायतले दुर्व्यवहार गरेको घटनाको निन्दा गर्दै यादवले स्वतन्त्र प्रेसको सम्मान गर्न माग गरे भने माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

गत २२ गते मंगलबार समाचार संकलनका लागि गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ता र नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितका समूहले प्रमुख प्रशासकीय अधिकृतको कक्षमा थुनेर, माइक खोस्नुका साथै हातपात गरेका थिए ।

गाउँपालिकामा भएको विसंगति, बेथिति तथा अवैधानिक रुपमा गरिएको १३औं गाउँसभा खारेजीको माग गर्दै उपाध्यक्ष रेणुकुमारी मण्डलसहित बहुमत कार्यपालिका सदस्यहरु अध्यक्ष मण्डलविरुद्ध संघर्षमा रहेका छन् ।