खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालयनजिकै सडकमाथिबाट झरेको पहिरोमा पुरिएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो ।
विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिरोमा पुरिएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । उनका अनुसार घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो तर शिक्षिका सावित्रादेवी नेवारले त्यही सडक भएर विद्यालय आवतजावत गर्नुपर्दथ्यो ।
पहिरोमा शिक्षिका सावित्रादेवीभन्दा अगाडिपछाडि सँगसँगै यात्रामा रहेकाहरुले भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीको भनाइ छ । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिए ।
विद्यालय जाँदै गरेकी शिक्षिका सावित्रादेवीको पहिरोले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ ।
प्रतिक्रिया