सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।
फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा. न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनको भनाइ छ ।
वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उनले जानकारी दिए । आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थप गरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष रु एक करोड पुऱ्याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०÷१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने, स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्ने, विपन्न २० परिवारलाई स्वास्थ्य बीमा गरिदिनेलगायत चिकित्सक दम्पतिको योजना छ ।
सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने फाउन्डेसनको योजना छ भने फाउन्डेसनमा आफ्नो कमाईमात्रै प्रयोग गर्ने अन्य दाताको सहयोग नलिने बताइएको छ । तथापि, सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ ।
photo: rss
प्रतिक्रिया