- विकाश रौनियार, धादिङ
धादिङको बेनिघाट रोराङ गाउँपालिका क्षेत्र आसपासमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सञ्चारमा समस्या भएको छ । फोन गर्दा फोन नलाग्ने र इन्टरनेट चलाउन पनि सहज नभएको सर्वसाधारणमात्रै नभएर सरकारी निकायकै गुनासो छ।
संघीय राजधानीसँगै जोडिएको जिल्ला धादिङको बेनिघाट रोराङ आफैँमा सुगम स्थान हो । तर यही सुगम स्थानमै नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर भएका कारण आम उपभोक्ताले पाउनुसम्म सास्ती पाएका छन् । मोबाइलबाट फोन गर्दा फोन नलाग्ने, मोबाइल डाटा राम्रोसँग नचल्ने समस्याले गर्दा हैरानी खेप्नु परेको छ। बिजुलीको लाइन जाने बित्तिकै टेलिकमको नेटवर्क जाने गरेको स्थानीय गोकुल पन्तले बताए।
मोबाइल नेटवर्कको समस्याले आम उपभोक्ता मात्रै नभएर सरकारी निकाय र सुरक्षा निकायलाई समेत सञ्चारमा समस्या भोग्नु परेको ट्राफिक प्रहरी अमृत मैनालीको भनाइ छ । टेलिकमको नेटवर्क समस्याले सेवा प्रवाहका पनि समस्या पारेको बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ । नेटवर्कको समस्याका विषयमा नेपाल टेलिकमलाई जानकारी गराए पनि समस्या समाधान नगरेको गुनासो गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताए।
आफ्नो नेटवर्कमा समस्या आएको जानकारी मिलेको उल्लेख गर्दै नेपाल टेलिकम बबरमहल (काठमाडौं)स्थित मर्मत तथा सञ्चालन विभागका प्रवन्धक रविन्द्र थापाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । टेलिकमको टावर भएपनि झ्याप्प झ्याप्प बिजुली जाने समस्याका कारण पनि नेटवर्कमा समस्या आएको अड्कल गरिएको छ।
प्रतिक्रिया