जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका


कैलालीको चुरे गाउँपालिका-४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।

कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुऱ्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताएका छन् । कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको र, ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै नआउने गरेका उनको भनाइ छ ।

गाउँलेहरूले वर्षौंदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्ट बताउँछन् । चुरे-४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बाध्यता सुनाए ।

photo: rss