नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी-१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज (६ भदौ) बिहान फेला परेको शङ्कास्पद बस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।
स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद बस्तु सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
उता दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेको जानकारी दिँदै भनेका छन्, ‘सुतली बम चर्को आवाजमा पड्केको थियो ।’
प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिँदै तिमल्सिनाले मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेको बताए ।
photo: rss
प्रतिक्रिया