नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार (८ भदौ) राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका-३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएअनुसार उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् । गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् ।
ना७ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उनको भनाइ छ । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि गएका थिए ।
‘बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका-३ मूर्तिपलियाका रहेको जानकारी पाइएको छ’, प्रहरी नायव उपरीक्षक सापकोटाले भनेका छन् । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य नीजि क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामुहिक पूजापाठसमेत गरेका बताइएको छ । सो बस बारागढी-१ का राजाराम साहको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया