स्तन क्यान्सर पहिचान र परीक्षणका लागि धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’

स्तन क्यान्सर पहिचान र परीक्षणका लागि धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’


धादिङको नीलकण्ठ नगरपालिका-३ धादिङबेसीस्थित ‘धादिङ अस्पताल’ले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबार (११ भदौ)देखि सेवा सुरुआत गरेको हो ।

स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सुक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भैराखेको बताउनुभयो । ‘विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स-रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ’, अस्पतालका निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले भन्नुभयो, ‘रेडियोग्राफर टेक्नोलोजिष्टद्वारा स्तनको चित्र लिन सकिन्छ ।’

सेवा सुरु भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छभने डाक्टरले मेमोग्राम गर्न सुझाव दिने गर्दछन् । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिँदै आएका छन् ।

photo: rss